नयाँ दिल्ली । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्यु हुँदा पनि नेपाल सरकारले बलियो उपस्थिति देखाउन सकेको छैन। प्रकृति लम्सालको मृत्यु भएको बेला नेपालस्थित भारतीय दूतावासबाट नेपाल प्रहरीका काउन्सिलरसहितको टोली गएर १० दिन बसे पनि उनीहरूले नेपाली विद्यार्थीलाई नेपाल सरकार रहेको अनुुभूति दिलाउन सकेका थिएनन्। प्रिसाको मृत्युमा त नेपाल सरकारका प्रतिनिधिले ओडिसा पनि नपुगी नयाँ दिल्लीबाटै काम चलाएका छन्।
प्रिसाको मृत्यु भएको एक साता बितिसक्दा पनि भारतस्थित नेपाली दूतावासबाट नेपाली विद्यार्थीहरूको अवस्थाबारे विश्वविद्यालय प्रशासनसँग बुझ्नेबाहेक केही काम भएको छैन । ओडिसास्थित किट विश्वविद्यालयमा अध्ययन गर्ने एउटा विद्यार्थीसँग पनि छलफल गर्ने र उनीहरूका समस्याबारे जानकारी लिने काम दूतावासले गरेको छैन।
विश्वविद्यालय परिसरमा भेटिएका विद्यार्थीहरूले दूूतावासमा कसरी सम्पर्क गर्ने, कसलाई भेटेर कुरा राख्ने विषयमा समेत कुनै मेलोमेसो नपाएको बताए। ‘हामी अध्ययनरत विश्वविद्यालयमा तीन महिनाको अन्तरमा दुई शंकास्पद मृत्यु भयो तर नेपाल सरकार र नेपाली दूतावासबाट विद्यार्थीसँग एकपटक पनि छलफल गर्ने, सरकारको उपस्थिति देखाउन काम भएन, हामी दुखी छौं,’ विद्यार्थीहरूले भने।
भुवनेश्वर प्रहरीले बिहीबार दिउँसो गरेको एक काउन्सिलिङ कार्यक्रममा उपस्थित विद्यार्थीहरूले दूतावासबाट विश्वविद्यालयमा कोही पनि नआउँदा आफूहरूलाई खल्लो लागेको र सरकारप्रतिको भरोसा कमजोर भएको गुनासो नागरिकसँग गरेका थिए। उनीहरूले नेपालबाट कोहीकसैले अहिलेसम्म सोधपुछ नगरेको तथा विश्वविद्यालय प्रशासनसँग पनि नेपाली विद्यार्थीको अवस्थाबारे जानकारी नलिएको गुनासो गरे। यो विषयमा भारतस्थित नेपाली दूतावासका काउन्सिलर एसएसपी सञ्जीवसिंह दासले नेपाली दूतावास र किट विश्वविद्यालय प्रशासनबिच सम्पर्क रहेको बताएका छन्।
उनले भुवनेश्वर प्रहरी प्रशासनसँग पनि सम्पर्क भइरहेको बताए। ‘हामी नियमित सम्पर्कमा छौं। प्रिसा साहको मृत्यु प्रकरणमा पनि त्यहाँको प्रशासन र प्रहरी प्रशासनले सहयोग गरिरहेका छन्,’ उनले भने।
छिमेकी देश भएकाले र तुलनात्मक रूपमा अन्य मुलुकहरूमा भन्दा शैक्षिक शुल्क पनि कम लाग्ने हुनाले नेपाली विद्यार्थीका लागि भारतका विश्वविद्यालयहरू आकर्षक गन्तव्य बनेका छन्। किट विश्वविद्यालयमा मात्रै करिब एक हजार तीन सय नेपाली विद्यार्थी अध्ययनरत छन्।
नेपालबाट भारत कुनै प्रवेशाज्ञा नचाहिने भएकाले नेपाली विद्यार्थीको विद्यालय होस् वा उच्च शिक्षा, दुवैका लागि भारत पहिलो रोजाइ हुने गरेको छ। भाषिक, धार्मिक र सांस्कृतिक हिसाबले दुई देश नजिक भएकाले पनि अभिभावकहरूले आफ्ना सन्तानलाई शिक्षाका लागि भारत पठाउने गरेका छन्।
यसरी युगौंदेखि स्थापित शैक्षिक तथा जनस्तरको सम्बन्धलाई पछिल्ला घटनाले बिथोल्ने संकेत देखिएको छ। अझ किट विश्वविद्यालय प्रशासनले नेपाली विद्यार्थीहरूलाई गरेको व्यवहारले त झन् सम्बन्ध बिथोलिने अवस्था बनेको त्यही अध्ययनरत नेपाली विद्यार्थीहरू बताउँछन्।
भारतमा अध्ययनरत हजारौं नेपाली विद्यार्थी हेपिनुपर्ने र कतिले मृत्युसम्म वरण गर्नुपर्ने बाध्यता सिर्जना हुँदा अभिभावकमा मात्र होइन, विद्यार्थीहरूसमेत चिन्तित छन्। यस्तो बेलामा किट प्रशासनले विद्यार्थीहरूलाई काउन्सिलिङ गर्न थालेको छ। तर दिल्लीस्थित नेपाली दूतावासले किट विश्वविद्यालयको सहकार्यमा वा आफ्नो पहलमा विद्यार्थीहरूलाई सरकार भएको आभास दिलाउन सकेको छैन।
किटका आधाभन्दा बढी विद्यार्थीलेनो अब्जेक्सन लेटर (एनओसी) लिएका छैनन्। भारतमा अध्ययन गर्न नेपाली विद्यार्थीका लागि एनओसी आवश्यक पर्दैन। तर पनि पछिल्लो समय सुरक्षा र विश्वविद्यालय शुल्क आधिकारिक माध्यमबाट पठाउनुपर्ने स्थिति छ। त्यसमा पनि नेपाल सरकार मौन छ। भारतले नेपाली विद्यार्थीलाई विविध विषयमा छात्रवृत्ति दिँदै आएको छ।
विज्ञान, प्रविधि, कृषि, व्यापार, व्यवस्थापन र मानविकी विषयहरू अध्ययनका लागि भारतले छात्रवृत्ति दिँदै आएकाले पनि नेपाली विद्यार्थीहरू बढी नै आकर्षित हुने गरेका छन्। छात्रवृत्तिबाहेक पनि नेपाली विद्यार्थीको उच्च शिक्षाको शैक्षिक गन्तव्य भारत बन्दै गएकाले पछिल्लो समय पैसा तिरेर जाने विद्यार्थी पनि बढेका छन्। यसले भारतको अर्थतन्त्रमा सहयोगसमेत पुगेको छ। तर पनि किट विश्वविद्यालय संवेदनशील बन्न नसकेको अवस्थामा सरकारको समेत ध्यान पुगेको देखिएन।
‘नेपाली दूतावासबाट कोही आधिकारिक व्यक्ति आएर काउन्सिलिङ गरेको भए हामीलाई किट प्रशासनले हेर्ने दृष्टिकोण नै फरक हुने थियो,’ किटमा अध्ययनरत विद्यार्थीहरूले भने। नागरिकले किट प्रशासनलाई विद्यार्थीहरूसँग भेट गराइदिन आग्रह गरेको थियो। तर परीक्षा सकिएका कारण सबै विद्यार्थी घर गएको भन्दै आनाकानी गर्यो। नागरिकको सम्पर्कमा आएका विद्यार्थीहरूले किट प्रशासनको खिलाफमा बोल्न सक्ने अवस्था नभएको र प्रशासनले अत्यन्तै कडाइ गरेको बताएका थिए।
तीन महिनाअघि प्रकृति लम्सालको मृत्यु भएपछि किट प्रशासनसँग समन्वय गर्न र त्यहाँ अवस्था बुझ्न नेपाली दूतावासबाट सुरक्षा अधिकारी पुगेका थिए। प्रिसाको घटनामा भने विद्यार्थीहरूले राम्रोसँग थाहा पाएनन्। प्रकृतिको मृत्युपछि विद्यार्थीमाथि मानसिक दुर्व्यवहार र ‘ब्ल्याकमेल’ भएको थियो।
प्रिसाको घटनालाई भने किट प्रशासनले आत्महत्या भएको भन्दै सामान्यीकरण गर्न खोजिरहेको छ। किटमा अध्ययनरत नेपाली छात्रा प्रिसाको मृत्युबारे भुवनेश्वरस्थित पुलिस कमिस्नर डा. सुरेशदेवदत्त सिंहले बिहीबार पनि अपराधको अनुसन्धानलाई निचोडमा पुर्याउने बताएका थिए। ‘अपराधको अनुसन्धानमा नेपाल वा भारत कुनै देशको सीमा हुँदैन, विदेशी–स्वदेशी नागरिकमा भेदभाव हुँदैन। नेपाली अभिभावकलाई आश्वस्त पार्न चाहन्छु कि प्रिसा साहको मृत्यु प्रकरणमा प्रहरीले राम्रोसँग अनुसन्धान गर्नेछ,’ उनले भनेका थिए, ‘अपराध गर्ने नागरिक जहाँको भए पनि अपराधी नै हुन्छ। उसलाई कानुनी दायरामा ल्याउन कोहीकसैले छेक्दैन।’
प्रिसा साहको मृत्यु प्रकरणमा परराष्ट्र मन्त्रालयले एकाध पटक मात्रै ताकेता गरेको छ। परराष्ट्र मन्त्रालय र दिल्लीस्थित नेपाली दूतावासले किट विश्वविद्यालयको घटनाबारे विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीहरूलाई शैक्षिक संस्थाको छात्रावासमा बस्ने प्रबन्ध मिलाउन आग्रह गरेर औपचारिकता मात्रै निभाएका छन्। साभार : नागरिक दैनिक/टपेन्द्र कार्की र मिथिलेश