वीरगञ्ज । पर्सा जिल्लामा गत आर्थिक वर्ष ०८१/०८२ मा १ अर्ब ६२ करोड ५६ लाख ८५ हजार ५ सय रुपैयाँ बराबरको लगानीसहित ९ सय ६३ वटा नयाँ घरेलु उद्योग दर्ता भई सञ्चालनमा आएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख उद्योग अधिकृत पवन पञ्जियारका अनुसार, दर्ता भई अधिकांश सञ्चालनमा समेत आएका छन् । सञ्चालित उद्योगहरूको स्थिर पूँजी एक अर्ब पाँच करोड ७७ लाख ९ हजार ३६० रुपैयाँ र चालु पूँजी ६७ करोड ४४ लाख ७ हजार ५४० रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्षमा दर्ता भएका घरेलु उद्योगहरूले दुई हजार ८९८ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको छ । तीमध्ये एक हजार ७३७ जना पुरुष र एक हजार १६१ जना महिला रहेका छन् । “पर्सामा घरेलु उद्योग दर्ता गर्ने उद्यमीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ,” पञ्जियारले भन्नुभयो ।
कार्यालयका अनुसार, उत्पादनमूलक उद्योगतर्फ दुई सय १८ नयाँ उद्योग दर्ता भएका छन्, जसको कूल पूँजी ४३ करोड ८२ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, कृषि तथा वनजन्य उद्योगतर्फ एक सय ४४ उद्योग दर्ता भई ३९ करोड ३५ लाख रुपैयाँ पूँजी रहेको छ ।
निर्माण क्षेत्रतर्फ ७५ उद्योग दर्ता भई १० करोड ३३ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ । पर्यटन क्षेत्रका १०६ उद्योगमा दुई करोड २३ लाख रुपैयाँ बराबरको पूँजी रहनेछ भने सेवामूलक क्षेत्रमा चार सय २० नयाँ उद्योग दर्ता भई ६६ करोड ८२ लाख रुपैयाँ लगानी भएको जनाइएको छ ।
पर्सा जिल्लामा साना उद्यमीहरूका लागि सहज वातावरण, बजार विस्तार र औद्योगिक पूर्वाधारमा भइरहेको सुधारको कारण घरेलु उद्योग दर्ताको दर वृद्धि भएको पञ्जियारले बताउनुभयो ।