वीरगञ्ज । गौरवशाली पत्रकार संगठन प्रेस सेन्टर नेपाल पर्सा जिल्ला समिति ले सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूमाथि भइरहेका निरन्तर आक्रमण, दमन र हस्तक्षेपको विरोध गर्दै प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूति गराउन माग गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश आर्यललाई ज्ञापनपत्र बुझाएको छ ।
प्रेस सेन्टर नेपालको केन्द्रीय निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा समिति सदस्यहरूले हाल पत्रकारहरूमाथि भइरहेको दमन, डर, धाकधम्की र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेका हुन्।
ज्ञापनपत्रमार्फत सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित, प्रेस स्वतन्त्रताको सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई संविधानअनुसार संरक्षण गर्न तात्कालिक र प्रभावकारी कदम चाल्न सरकारसँग माग गरिएको छ।
कार्यक्रममा प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादवको नेतृत्वमा सचिव अजित भुजेल, उपाध्यक्ष समिना रंजितकार, कोषाध्यक्ष संजित गुप्ता, सह-सचिव विदुर गौतम, पत्रकार सन्तोष कुशवाहा, रितेश झा, अशोक श्रीवास्तव, भरत सर्राफ लगायतको उपस्थिति रहेको थियो।
उनीहरूले प्रमुख जिल्ला अधिकारीसँग भेटवार्ता गर्दै पत्रकारिता क्षेत्रलाई दबाबमुक्त, सुरक्षित र स्वतन्त्र राख्न सरकारको स्पष्ट प्रतिबद्धता आवश्यक भएको बताए।