वीरगंज । ओसिस माध्यमिक विद्यालयको वार्षिक कार्यतालिकाअनुसार ‘आमाबुवाको महत्त्व’ विषयमा केन्द्रित अन्तरसदन हाजिरीजवाफ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रदेव शाहको अध्यक्षतामा आयोजित प्रतियोगितामा विभिन्न सदनका विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा विद्यार्थीहरूले आमाबुवाको योगदान, महत्त्व तथा परिवारप्रतिको जिम्मेवारीसँग सम्बन्धित विषयमा आफ्नो ज्ञान र प्रतिभा प्रस्तुत गरेका थिए।
कार्यक्रममा माध्यमिक तहका शिक्षक काशीराम कटेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। त्यसैगरी, कक्षा ८ की अन्जु शाह र कक्षा ७ की श्वेता कुमारी मण्डलले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगिताका संयोजक तथा शिक्षिका गुञ्जन पटेलका अनुसार विभिन्न सदनबाट सहभागी विद्यार्थीबीच प्रतिस्पर्धात्मक रूपमा कार्यक्रम सञ्चालन भएको थियो।
प्रतियोगिताको अन्तिम नतिजाअनुसार तेन्जिङ सदनकी कक्षा ६ की जोया प्रविन प्रथम भएकी छन्। त्यस्तै, अरनिको सदनका कक्षा ४ का सिद्धु मण्डल द्वितीय, सिद्धार्थ सदनका कक्षा ५ का निरज चौधरी तृतीय र जनक सदनकी कक्षा ५ की रोशनी मिजार चौथो स्थान हासिल गर्न सफल भएका छन्।
कार्यक्रमको समापनमा विजेता विद्यार्थीहरूलाई विद्यालयकी रिसेप्सनिस्ट सीमा चौधरीलगायतका व्यक्तित्वहरूले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए। विद्यालयमा आयोजना हुने यस्ता अतिरिक्त शैक्षिक गतिविधिले विद्यार्थीहरूको ज्ञान, तार्किक क्षमता, आत्मविश्वास, प्रस्तुतीकरण कला तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ। साथै, ‘आमाबुवाको महत्त्व’ जस्तो विषयमार्फत विद्यार्थीमा अभिभावकप्रतिको सम्मान, कृतज्ञता र पारिवारिक जिम्मेवारीबोध अभिवृद्धि गर्ने सन्देशसमेत प्रवाह भएको छ।