वीरगन्ज । पर्साको भेडीयाहीस्थित नेशनल मेडिकल कलेज र वीरगन्ज महानगरपालिकाका १३ वटै वडाबीच स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने ऐतिहासिक सम्झौता भएको छ।
बुधबार अस्पतालको सभा हलमा वीरगन्ज महानगरपालिकाका १३ वटै वडाका वडा अध्यक्षहरू र नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक सहनवाज अन्सारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। यस सम्झौताले विशेष गरी विपन्न वर्गका नागरिकलाई सस्तो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ।
निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम
स्वास्थ्य उपचारमा छुटका अतिरिक्त, नेशनल मेडिकल कलेजले १३ वटै वडा कार्यालयहरूमा प्रत्येक तीन-तीन महिनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। यसका साथै, रक्तदान कार्यक्रमको आयोजना समेत गर्ने सम्झौता भएको छ। यसले समुदायको स्वास्थ्य चेतना अभिवृद्धि गर्न र आकस्मिक रगतको आवश्यकता पूरा गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आज भएको यो सम्झौता एक वर्षसम्म लागू रहनेछ। अस्पतालका प्रबन्ध निर्देशक सहनवाज अन्सारीका अनुसार, आवश्यकताअनुसार दुवै पक्षको आपसी सहमतिमा थपघट वा परिमार्जन गर्न सकिनेछ।
सम्झौता कार्यक्रममा वीरगन्ज महानगरपालिकाका अधिकांश वडा अध्यक्षहरूको उपस्थिति रहेको थियो। वडा अध्यक्षहरूले यस दिनलाई ‘ऐतिहासिक दिन’ को रूपमा मानेका छन्। उनीहरूले आजदेखि गरीब र असहाय मानिसहरूलाई नेशनल मेडिकल कलेजमा उपचार गराउन सहज हुने र बिस्तारै सेवा सुविधालाई बढाउँदै जाने आशा व्यक्त गरे।
अस्पतालका निर्देशक डाक्टर ईसरत जहान अन्सारीले पनि यस दिनलाई सबैका लागि ऐतिहासिक भएको बताउँदै अब सहरदेखि गाउँसम्मका जनताले सहज रूपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिन्।
यस अवसरमा अस्पतालका मार्केटिङ र एडमिसन डाइरेक्टर आबिद हुसेन, एकेडेमी डाइरेक्टर रुबी श्रेष्ठ यास्मिन, नेशनल मेडिकल कलेजका प्रधानाध्यापक प्रोफेसर डाक्टर केएन सिंह र सञ्चारकर्मीहरूको पनि उपस्थिति रहेको थियो।
के-के छन् सम्झौताका मुख्य बुँदाहरू?
यस स्वास्थ्य सम्झौताअन्तर्गत नेशनल मेडिकल कलेजले विभिन्न स्वास्थ्य सुविधाहरूमा छुट प्रदान गर्नेछ। ती छुटहरू निम्नानुसार रहेका छन्:
ओपिडी टिकट: २५ प्रतिशत छुट
जेनरल बेड चार्ज: १५ प्रतिशत छुट
आईसीयू, एनआईसीयू, पीआईसीयू बेड चार्ज: ५ प्रतिशत छुट
जेनेरल ल्याप्रोस्कोपिक तथा इन्डोस्कोपिक: ८ प्रतिशत छुट
प्याथोलोजी जाँच: १० प्रतिशत छुट
भिडियो एक्स-रे, एक्स-रे, ईसीजी, इन्डोस्कोपी: ७ प्रतिशत छुट
सीटी स्क्यान, एमआरआई: ७ प्रतिशत छुट
फार्मेसी (ओपिडी): १० प्रतिशत छुट
फार्मेसी (आईपीडी): १५ प्रतिशत छुट
यी छुट सुविधाहरू प्राप्त गर्नका लागि सम्बन्धित वडा कार्यालयको लेटरप्याडमा सिफारिस अनिवार्य हुनेछ।
यो सम्झौता वीरगन्ज महानगरपालिकाका नागरिकहरूका लागि स्वास्थ्य सेवामा पहुँच बढाउन एउटा महत्त्वपूर्ण कदम साबित हुने अपेक्षा गरिएको छ।