सिरहा । मालपोत तथा भूमि सुधार कार्यालय, सिरहाका एक कर्मचारीको घरमा प्रहरीले छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय, सिरहाको टोलीले मालपोतका कर्मचारी राजकुमार राय बस्ने घरमा शुक्रबार छापा हानेको हो ।
प्रहरीकाअनुसार राय बस्ने सिरहा सदरमुकामस्थित एक घरबाट छापाका क्रममा लालपुर्जा, मोठ श्रेस्तालगायत मालपोतका महत्त्वपूर्ण कागजातहरू भेटिएका छन् । उक्त घरमा फेला परेका लालपुर्जामध्ये केही नक्कली रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
बोरा र पोकामा राखिएको अवस्थामा घरका विभिन्न कोठाबाट बरामद भएका कागजातहरूको संख्या ठूलो भएको र अहिले गन्न बाँकी रहेको प्रहरीले जनाएको छ । रायले यसैगरी अन्य ठाउँमा पनि कागजातहरू राखेको सूचना आएको र त्यसका आधारमा प्रहरी अझैं छापाको क्रममै रहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताउनुभयाे ।
'अहिले बरामद भएका कागजातको संख्या ठूलो छ, उनले यसैगरी अन्य ठाउँमा पनि कागजात राखेका छन् भन्ने सूचना आएको छ, त्यसैले हाम्रो छापा अझैं सकिएको छैन्,' डीएसपी पासवानले कान्तिपुरसित भन्नुभयाे, 'हामीले तपाईंहरूलाई एकैचोटी सबै विवरण दिन्छौं ।'
नेकपा एमालेनिकट नेपाल निजामती कर्मचारी संगठन सिरहाका अध्यक्षसमेत रहेका राय कार्यालय सहयोगी दर्जाका कर्मचारी भए पनि राजनीतिक पहुँचका कारण मालपोतमा हाबी रहँदै आएका छन् । मालपोत स्रोतकाअनुसार कार्यालय प्रमुखसँग मिलेर उनले आर्थिक लेनदेन गरी लामो समयदेखि जग्गासम्बन्धि गैरकानुनी कार्यहरू गर्दै आएका थिए ।
'मालपोतमा हुनुपर्ने कागजात आफ्नै घर डेरामा राख्ने, सरकारी जग्गाको लालपुर्जा व्यक्तिलाई बनाईदिनेजस्ता कामै हो उनको,' मालपोतका एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा भन्नुभयाे, 'कार्यालय प्रमुख जो आए पनि मुख्य मान्छे राजकुमार नै हो, राजनीतिक पहुँच भएकाले उनको कसैले यहाँबाट सरूवा पनि गर्न सक्दैनन् ।'
राय अहिले सिरहा प्रहरीको हिरासतमा छन् । उनलाई बिहीबार सोही घरबाट प्रहरीले एक महिलासहित पक्राउ गरेको थियो । रायले परस्त्रीसँग सम्बन्ध राखेर आफूलाई दु:ख दिएको भन्दै उनकी पत्नीले उजुरी दिएकी थिइन् ।