जनकपुर । मधेश सरकारको आगामी बजेटमाथि अझै छलफल सुरु हुन सकेको छैन । बिहीबार पाँचौँ दिन पनि प्रतिपक्षी दलको अवरोधका कारण प्रदेशसभा बैठक स्थगित भएको छ ।
बिहीबारको बैठकमा प्रतिपक्ष दलले कार्यदल गठनमा असहमति जनाएपछि सभामुख रामचन्द्र मण्डलले दस मिनेटका लागि स्थगित गरेको बैठक अगामी शनिबार १ बजे सम्मको लागि स्थगित भएको हो ।
प्रतिपक्षको ६ दलले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा बिचौलिया हाबी भएको आरोप लगाउँदै आएको छ । सोही विषयमा छानबिन गर्न प्रमुख प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल, माओवादी, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाका सांसदले बजेटको विरोध गर्दै आएका छन् ।
सुरुवातमा सरकार कार्यदल बनाउन सहमत नभएपछि प्रदेशसभा बैठक अवरुद्ध हुँदै आएको थियो । तर, बुधबार सरकार कार्यदल गठन गर्न सहमत भएको थियो । त्यसपछि सभामुख रामचन्द्र मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदलमा तीन जना प्रतिपक्ष, दुई जना सत्तापक्ष र एक जना सभामुख राख्ने सहमति भएको थियो । तर, सत्ता पक्षबाट नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवलाई पनि कार्यदलमा राखेपछि प्रतिपक्षले असहमति जनाएका छन् ।
कार्यदलका सदस्य तथा नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक कनिश पट्टेलले सरकारको नियत खराब भएकै कारण कार्यदलमा मन्त्रीलाई राखेको टिप्पणी गरे । ‘बजेटमा बिचौलियाको प्रभाव रहेको प्रस्ट भयो । सरकारले आफ्नो गलत काम जोगाउनका लागि कार्यदलमा मन्त्रीलाई राखिएको छ,’उनले भने,‘जोमाथि छानबिन गर्नु छ उसैलाई कार्यदलमा राखेपछि कसरी हुन्छ ?’
जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले पनि सरकारले सहमतिअनुसार कार्यदल गठन नगरेको आरोप लगाए । सरकारको भूमिका प्रदेशसभामा देखिनु संसदीय अभ्यासका लागि उपयुक्त नभएको उनको भनाइ छ । ‘जुन हिसाबले सरकारले कार्यदलमा गठन गर्ने प्रयास गरेको छ त्यो गलत छ,’उनले भने,‘सरकारको सहभागितासहितको कार्यदल स्वीकार्य हुँदैन । यस्तो कार्यदलले कुनै उपलब्धि हासिल हुँदैनन् ।’
सभामुख रामचन्द्र मण्डलले पुनः शनिबार सहमतिको प्रयास गरिने बताए । सहज रूपमा प्रदेशसभा सञ्चालन गर्न र बजेट पास गराउन सहजकर्ताको भूमिकामा रहेको उनको भनाइ छ । ‘सकेसम्म विवाद नहोस्, सबैको सहमतिमा बजेट पारित होस् भन्ने हाम्रो चाहना छ,’सभामुख मण्डलले भने,‘तर दुवै पक्षको आफ्नै अडान छ त्यही भएर समय लागेको छ ।’
मुख्यमन्त्री सतिशकुमार सिंह राष्ट्रिय योजना आयोगको बैठकमा काठमाडौं जान लागेका छन् । शनिबार आएपछि पुनः बैठक बसेर विवाद टुंगो लगाउने बताए । तर, प्रतिपक्षको पनि नियत ठीक नभएको मुख्यमन्त्री सिंहले आरोप लगाए । ‘कार्यदल गठनमा प्रतिपक्षको तीन जना र सत्तापक्षको दुई जना राख्ने सहमति भएको थियो,’मुख्यमन्त्री सिंहले भने,‘अब त्यही अनुसार नाम दियौं । फेरि डिस्टर्ब गर्ने हिसाबले प्रतिपक्षले बखेडा गरिरहेको छ ।’ यो छानबिन समिति नभई कार्यदल बनेको हुनाले धेरै आलटाल नगर्नुपर्ने उनको भनाइ छ । असार मसान्तभित्र बजेट पारित गराउनु पर्ने कानुनी प्रावधान छ । सरकार अबको बैठकमा प्रतिपक्षलाई पेलेरै भए पनि बजेट पारित गराउने तयारीमा छ ।
सभामुख मण्डलले बिहीबार घोषणा गरेको कार्यदलमा मण्डल स्वयं संयोजक, नेकपा एकीकृत समावादीका प्रमुख सचेतक कनिश पटेल, जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादव, माओवादीका सांसद जवाहरलाल कुशवाहा, कांग्रेस संसदीय दलका नेता कृष्णा यादव र नेकपा एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव सदस्य रहेका छन् । साभार : इकान्तिपुर