वीरगंज । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकाका पानी संकटग्रस्त क्षेत्रको अनुगमन भ्रमण गरेको तीन दिन नबित्दै ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडानको कार्य अघि बढेको छ। मन्त्री यादवले दुईदेखि तीन दिनभित्र पानीको समस्या समाधान गर्ने प्रतिवद्धता गरे अनुसार डिप बोरिङको कार्य अघि बढाएपछि महानगरवासी हर्षित भएका छन्।
महानगरपालिकाको वडा नं. ११ विद्यापति टोल, वडा नं. १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ परवानीपुर तत्वाटोल, वडा नं. २१ कोरिया टोल, वडा नं. २४ रामगढवा मनमोहन टोल लगायतका क्षेत्रमा डिप बोरिङ गरी पाइपलाइनमार्फत खानेपानी वितरणको कार्य अन्तिम चरणमा पुगेको मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहले बताए। उनले बाँकी स्थानहरूको पनि अध्ययन र अवलोकन भइरहेको र पानी समस्या समाधानका लागि मन्त्री ज्यु गम्भीरताका साथ काम गरिरहेको जानकारी दिए।

पानीको चरम संकट भइरहेका बेला मन्त्री यादव स्वयं बस्ती बस्ती, टोल टोलमा पुगेर तत्कालै समस्या समाधान गरेपछि वीरगंजवासी खुशी हुन थालेका छन्। महानगरपालिकाको ट्र्याक्टरमार्फत पानी वितरण भइरहेको विद्यापति टोलका युवा सुनिल महतोले “जनताको दुःखसुखमा काम लाग्ने मन्त्री प्रदीप यादव हुनुहुन्छ” भन्दै सराहना गरे।
त्यस्तै, रामगढवा मनमोहन टोलकी मिरा देवी कुर्मीले मन्त्री यादव आउनुभएको तीन दिन नबित्दै डिप बोरिङको काम सुरु भएको भन्दै “मन्त्रीले जनताको समस्या तत्कालै सम्बोधन गर्नु भएकोमा धन्यवाद व्यक्त गर्छु” भनिन्।
वीरगंजमा पानीको चरम संकट रहेको चर्चा गर्दै उनले सिर्सिया नदी सफा भएमा नुहाउन, गाईवस्तु नुहाउने र लुगा धुने समस्यामा सहजता हुने बताइन्। उनले नदी सफाइ अभियानमा मन्त्री, मेयर, वडा अध्यक्ष र स्थानीय महिला पुरुष सक्रिय रूपमा लाग्नुपर्नेमा जोड दिइन्।

खानेपानीको अभाव भएपछि मन्त्री यादवले वीरगंज महानगरपालिका क्षेत्र नं. १ र २ का विभिन्न वडाहरूमा स्थलगत अनुगमन गर्दै मंगलबार र बुधबार छलफल, अन्तरक्रिया र स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। दीर्घकालीन समस्या समाधानका लागि नीतिनिर्माण गरी ठूला परियोजना अघि बढाउने र तत्काल समाधानका लागि डिप बोरिङ, ट्यांकरलगायतका उपाय अपनाउने प्रतिबद्धता मन्त्री यादवले जनाएका थिए।
मन्त्री यादवले असार मसान्तभित्र खानेपानी संस्थानको पाइपलाइन नभएका क्षेत्रहरू पहिचान गरी १०० भन्दा बढी स्थानमा डिप बोरिङमार्फत पानी वितरणको व्यवस्था मिलाइसकेको र थप ४० देखि ५० ठाउँमा डिप बोरिङ जडानको निर्देशन दिएको जानकारी दिए। उनले पर्सा र अन्य पालिकामा समेत पानीको समस्या देखिएकाले आफू गम्भीरताका साथ काम गरिरहेको बताए।
“कुनै पनि नेपालीलाई खानेपानीको समस्या हुन नदिने मेरो प्रतिबद्धता हो,” मन्त्री यादवले बताए।
