वीरगन्ज : वीरगन्जमा पछिल्लो समयमा वीरगन्ज भन्सार कार्यालय र शसस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मको अवैध छापामारीले उद्योगी व्यवसायीलाई त्रसित बनाएको गुनासो व्यापारीले गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघको निरिहताका कारण स्थानिय उद्योगी व्यवसायी त्रसित बनेका छन् । वीरगन्ज भन्सार कार्यालयका मुद्दा शाखाका अधिकृत र शसस्त्र प्रहरी वीरगन्ज भन्सार गुल्मका डिएसपीले वीरगन्जको औद्योगीक प्रतिष्ठनहरुमा अवैध छापामारी गरि उद्योगी व्यवसायीलाई त्रसित बनाएको गुनासो व्यापारीले गरेका छन् ।
गत शुक्रवार विहान करिब १० बजेको समयमा वीरगञ्जको ठाकुर राम बहुमुखी क्याम्पस नजिकको एक गर्मेन्ट उद्योगमा वीरगञ्ज भन्सार गुल्मका डिएसपी लोकेन्द्र शुब्बा, भन्सारका अधिकृत अनिल ढकाल, गोविन्द खरेल सहितको टोलीले डकैती शैलीमा उद्योग भित्र छिरेर ४ हजार ६३ थान तयारी कुर्ती र ३ सय २२ थान कुर्ता–सलवार भन्सार लगेको उद्योग सञ्चालकले जनाएका छन् । तर, सशस्त्र प्रहरील भने बरामद मालसामानको संख्या लुकाई ६ लाख ५९ हजारको कपडा बरामद गरिएको जनाएको छ ।
यता उद्योग सञ्चालकका अनुसार भन्सार बुझाउंदा बरामद मालसामान मध्येबाट २ हजार ५ सय पिस कुर्ती र ५० थान कुर्ता–सलवार गायब भएको छ । कुनैपनि औद्योगीक प्रतिष्ठनमा छानविन वा छापामारी गर्ने क्रममा वीरगञ्ज महानगर, जिल्ला प्रशासन, उद्योग वाणिज्य संघका प्रतिनिधी अनिवार्य रुपमा उपस्थित हुने प्रावधान छ । तर, भन्सारका अधिकृत र डिएसपीले व्यापारिक प्रतिष्ठानहरुमा छापामारीको उद्देश्यले जांदा प्रावधानलाई धोती लगाउंदै डकैती शैलीमा उद्योग भित्र छिरेकोे सिसिटिभी फुटेजमा स्पष्ट देखिएको छ ।

यसबारे वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दिपक लामिछानेले औद्योगिक प्रतिष्ठानमा चोरी पैठारी वा अन्य अवैध कार्यको छानविनका लागि सरोकारवाला अन्य प्रतिनिधी सहित जाने प्रावधान रहेको र सोही अनुरुप आफूहरुले खबर समेत गर्नेगरेको भएतापनि समयमा प्रतिनिधीहरु नआईदिने बताउनुभयो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौत्तमले यस प्रकारको कार्यवाहीमा संघको प्रतिनिधी अनिवार्य रहनुपर्ने बताउंदै यस घटना बारे आफूहरुलाई जानकारी नदिईएको प्रतिकृया दिए ।
उद्योग भित्र महिला कर्मचारी र अन्य कामदार काम गरिरहेको अवस्थामा सरोकारवाला अन्य प्रतिनिधीको गैरहाजिरीमा भन्सार अधिकृत तथा डिएसपीले उद्योगभित्र छिरेर गरेको अवैध कार्यवाहीका विरुद्ध उद्योगीले उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा उजुरी गर्ने जनाएका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको शाखः खस्दै गएपछि स्थानीय उद्योगी व्यवसायीले यसप्रकारका दुख भोग्नुपरेको व्यापारीले जनाएका छन् । वीरगञ्जमा अवैध छापामारीका कारण व्यवसायीहरु त्रसित रहेको अवस्थामा समेत वीरगञ्ज उद्योग वाणिज्य संघलाई जानकारी नभएको कुराले वाणिज्य संघको गरिमा माथि प्रश्न खडा गरेको छ । साभार : हमार वीरगंज