जनकपुरधाम । मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले मधेसको वर्तमान शान्ति सुरक्षाको अवस्था र भावी कार्यदिशाबारे महत्वपूर्ण निर्देशन दिएका छन् ।
आईतबार भर्चुअल कार्यक्रममार्फत मधेश प्रदेश प्रहरी कार्यालय अन्तर्गतका विभिन्न कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक चतुर्वेदीले निर्देशन दिएका हुन् । डीआईजी चतुर्वेदीले सम्बोधनका क्रममा मातहतका एकाइहरूको काम कारबाहीको सुपरिवेक्षण, प्रहरी आचरण तथा अनुशासन, र शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न विशेष जोड दिए ।

उनले गैर–व्यावसायिक प्रहरी कर्मचारीहरूलाई तत्काल विभागीय कारबाही गरी दण्डित गर्न निर्देशन दिएका छन् । लागुऔषध ओसारपसार नियन्त्रण, कार्य सम्पादन सम्झौता बमोजिम गरिने कार्यहरूको प्रभावकारी कार्यान्वयन, सवारी दुर्घटना न्यूनीकरण, सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रण, आन्तरिक शुद्धीकरण, र प्रहरी कर्मचारीहरूको उत्प्रेरणा अभिवृद्धि लगायतका विषयहरूमा गहन समीक्षा गर्दै थप प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ ।

भर्चुअल कार्यक्रममा मधेश प्रदेश प्रहरी तालिम केन्द्र, जनकपुर (सम्पर्क कार्यालय राजविराज), नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज (हाल जनकपुर), नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवर, धनुषाका गण प्रमुखको उपस्थिति रहेको थियो ।
त्यस्तै मधेश प्रदेश प्रहरी गण जनकपुरधाम, धनुषाका गण प्रमुख, साथै सम्पूर्ण जिल्ला प्रहरी कार्यालयहरू, ईलाका प्रहरी कार्यालयहरू, मधेश प्रदेश विपद् व्यवस्थापन गुल्म, वीरगञ्ज र नेपाल प्रहरी स्कुल जिङ्गडिया, रौतहटका प्रमुखहरूको सहभागिता रहेको थियो ।