रौतहट । करिब दुई महिनादेखि सुख्खा खडेरीको कारण वीरगन्जमा पानीको हाहाकार मच्चिएपछि महानगरले विज्ञ टोली लिएर पानीको मुहान खोज्न चुरे क्षेत्र सम्म पुगेको छ ।
सुख्खा खडेरीको कारण भू-जल सतह घटेर वीरगन्जमा खानेपानीको संकट देखा परेपछि दीर्घकालीन रूपमै समस्या समाधानका निमित्त वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पानीको मुहान खोज्न विज्ञ सहितको टोली लिएर चुरे क्षेत्र सम्म अवलोकन गरेका छन् ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञ र महानगरका प्राविधिकहरू सम्लित टोली लिएर मेयर सिंहले बाराको अमलेखगन्ज चुरे क्षेत्र हुँदै भेडाहा खोला सम्म स्थलगत अवलोकन गरेका छन् । बारा अमलेखगन्जमा रहेको कर्मकुमारी खानेपानी आयोजनाले चुरे क्षेत्रबाट पानीको स्रोत संकलन गरी ८ सय बढी भन्दा बढी घर धुरीलाई दैनिक करिब २४ लाख लिटर खानेपानी वितरण गर्दै आएको छ ।
चुरे फेदिमै रहेका बाराको अमलेखगन्ज स्थिति बस्तीमा विगतमा वीरगन्ज जस्तै खानेपानीको चर्को समस्या हुन्थ्यो । जब अमलेखगन्ज कर्मकुमारी खानेपानी आयोजनाले चुरे क्षेत्र भएर बग्दै गरेको पानीको मुहान संरक्षण गरी सहज रूपमै खानेपानीको आपूर्ति गर्दै आएको छ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका विज्ञ र महानगरका मेयर सिंह सहितका टोलीले बिहीबार उक्त खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्दै त्यहाँका उपभोक्तासँग छलफल गरेका छन् ।
मेयर सिंहसहितको विज्ञ टोलीले वीरगन्ज महानगरको वडा नम्बर ३१ बेल्वास्थित भेडाहा खोलाको समेत स्थलगत अवलोकन गरेका छन् । अमलेखगन्जमा चुरे क्षेत्र बाट बग्ने पानीको श्रोत संरक्षण गरेर वस्तिमा खानेपानीको सहज आपूर्ति भइरहेको मोडल मै भेडाहा खोलाको पानी पनि संरक्षण गरेर वीरगन्जमा पानीको समस्या दीर्घकालीन रूपमै समाधान गर्न सकिने विज्ञहरूको कथन छ ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति कार्यान्वयन इकाई कार्यालय चितवनका इन्जिनियर अनिल सिन्हाले चुरे क्षेत्रको मुहान भएर बग्ने खोला र नदीबाट खेर गइरहेको पानी ठाउँ ठाउँमा ‘होल्ड’ गरी वीरगन्जको सुक्दै गएको भूजलको सतह माथि आउन सक्ने उनको तर्क रहेको छ ।
इन्जिनियर सिन्हाले भने,‘ भेडाहा खोलामा अहिले पानी पर्याप्तमा बगेर खेर गइरहेको छ । यदि त्यो खोलाको पानीलाई अमलेखगन्जको जस्तै ठाँउठाँउमा होल्ड गर्यो भने जमिन मुनि पानीको रिचार्ज आपसे आप हुन्छ । त्यसले वीरगन्ज क्षेत्रमा भूजलको सतह माथि आउँछ । अनि अहिले देखिएको पानीको संकट स्वतः समाधान हुन्छ ।
वीरगन्जबाट करिब ८ किलोमिटर दुरीमा रहेको भेडाहा खोलामा ठाउँ ठाउँमा पानी होल्ड गर्ने २०÷२५ वटा संरचना र खोला छेउमा पोखरी बनाउन आवश्यक रहेको बताए । चुरे क्षेत्र हुँदै बग्ने खोलाको पानी जति होल्ड गर्न सकियो वीरगन्ज क्षेत्रका जमिनमुनि त्यति नै धेरै पानी रिचार्ज हुन्छ । बाराको अमलेखगन्जको जस्तो टेक्नोलोजी पर्साको भेडाहा खोलमा अपनाउन जरुरी देखिन्छ ।
भेडाहा खोलामा पानी होल्ड गर्ने अन्डर ग्राउन्ड संरचना बनाएर पानी पाइप मार्फत खोला छेउको पोखरीमा लगेर भर्नुपर्छ । पानी होल्ड गर्ने संरचना बनाउनका लागि यसअघि नै आफूहरूले भेडाहा खोलामा अनुगमन गरिसकेको बताए ।
राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डाक्टर किरण पौडेलले वीरगन्ज र आसपासका क्षेत्रमा देखा परेका खानेपानीको हाहाकार दीर्घकालीन रूपमा समाधान गर्नका लागि वीरगन्ज आसपास क्षेत्रको जमिनमुनि पानीको पुर्नभरण आवश्यक रहेको बताए । चुरे क्षेत्रका खोलाको पानी होल्ड गरेर भूजलको सतह बढाउनु पर्ने बताए ।
वीरगन्ज महानगरका मेयर सिंहले वीरगन्जमा विगत तीन वर्ष यता गर्मीका बेला चापाकलहरु सुकेर खानेपानीको हाहाकार हुदैं आएको प्रतिक्रिया दिए । यसपालि देखि उक्त समस्याले झन् विकराल रूप लिएको बताउँदै मेयर सिंहले यसका दीर्घकालीन समाधानको उपाय खोजीका लागि चुरे क्षेत्रमा पर्ने अमलेखगन्ज र भेडाहा खोलाको निरीक्षण गरिएको बताए ।
वीरगन्जमा करिब तीन लाखा मानिस खानेपानीको अभाव झेलिरहेका छन् । महानगरले टोल टोलमा डीप बोरिङ गाडेर र तथा ट्यांकर मार्फत पानीको आपूर्ति गरिरहे पनि त्यो दीर्घकालीन रूपमा समस्याको समाधान गर्न सकेको छैन । दीर्घकालीन समाधान भनेको जमिनमुनि पानीको पुर्नभरण नै भएकाले त्यसैका लागि चुरे क्षेत्रको निरीक्षण गरिएको मेयर सिंहले बताए ।
निरीक्षणका क्रममा विज्ञ र प्राविधिकहरूले भेडाहा खोलामा पानी होल्ड गर्ने अन्डरग्राउन्ड संरचना र खोला छेउमा पोखरी बनाउन सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको सहयोग आवश्यक रहेको उनले बताए । मदन ठाकुर / नागरिक दैनिक