वीरगञ्ज । भर्खरै वैवाहिक जीवन सुरु गरेका वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका २२ वर्षीय असहाव आलम ठकुराईको जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर निधन भएपछि मुर्ली क्षेत्र शोकमा डुबेको छ ।
दुई महिनाअघि मात्रै भारतको बिहार, पूर्वी चम्पारणस्थित बेल्दर्वाकी रोक्सिता खातुनसँग वैवाहिक बन्धनमा बाँधिएका असहावले वैवाहिक जीवन राम्रोसँग सुरु गर्न नपाउँदै मंगलबार काठमाडौँको गोङ्गबुमा आन्दोलनका क्रममा ज्यान गुमाए ।
परिवारका अनुसार, असहाव काठमाडौँमा अध्ययन र रोजगारीको सिलसिलामा तीन वर्षदेखि बसोबास गर्दै आएका थिए । सोही दिन बिहान पठाओमा यात्रु बोकेर गोङ्गबुतर्फ जाँदै गर्दा जेनजी समूहको प्रदर्शनमा संलग्न रहँदा प्रहरीले प्रहार गरेको गोली लागेर घटनास्थलमै ढलेका थिए ।

शव अस्पतालमै भेटियो, परिवार स्तब्ध
बिहान १० बजेपछि सम्पर्कविहीन भएका असहावको खोजी गर्दै जाँदा काठमाडौँको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उहाँको शव भेटिएको परिवारले जनाएको छ । उनका एक छिमेकीका अनुसार, असहावको छाती र पेटमा गोली लागेका थिए ।
शोकमा आमाबाबु, पत्नी बारम्बार मुर्छा
असहावका आमा नजला खातुन र पत्नी रोक्सिता खातुन शोकमा विछिप्त अवस्थामा छन् । आमाले छोरा श्रवणकुमार जस्तै सेवा भावी र माया गर्ने सन्तान रहेको बताउँदै प्रश्न गरिरहेकी छन् । “मेरो छोराले के दोष ग¥यो र प्रहरीले गोली हाने?” रुँदै भनिन्, “दुई महिनाअघि मात्र बुहारी भित्र्याएको छोरो गुमाएँ, अब मेरी बुहारी कसको मुख हेरेर बाँच्छिन्?”
स्मरणमा मैनबत्ती प्रज्वलन
असहावको निधनले मुर्लीबासी मात्र नभई सिङ्गो वीरगञ्ज स्तब्ध छ । वीरगञ्ज महानगर–१३ का पूर्ववडाध्यक्ष तुफान अन्सारीले असहाव एक असल छिमेकी तथा युवा नेता भएको उल्लेख गर्दै शोक व्यक्त गर्नुभयो । “उहाँको निधन अपूरणीय क्षति हो,” अन्सारीले भने, “अहिले सिङ्गो बस्ती नै मर्माहत छ ।” शुक्रबार साँझ वीरगञ्जको प्रतिमा चौकमा मैनबत्ती प्रज्वलन गर्दै असहावप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।
यो बलिदान क्रान्तिको आधार बनोस्
असहावका काका असराल आलम ठकुराईले यो बलिदानले मुलुकमा नयाँ क्रान्तिको सुरुआत गरोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो। “उहाँजस्ता युवाले दिएको बलिदानले परिवर्तन ल्याओस्,” उहाँले भन्नुभयो, “असहावको नाम इतिहासमा लेखियोस्।”