वीरगञ्ज । नयाँ सरकार गठन भएसँगै वीरगन्ज सहित बारा,पर्साको जनजीवन सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले आज देखि लागू हुने गरी निषेधाज्ञा र कफ्र्यू आदेशको समय हेरफेर गरेको छ । जिल्ला सुरक्षा समितिको आज सम्पन्न बैठकले वीरगन्ज क्षेत्रलाई लक्षित गर्दै नयाँ समयसहितको निषेधाज्ञा र कर्फ्यु लागू गर्ने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्ला सुरक्षा समिति पर्साको बैठकले अबदेखि बिहान ५ बजेदेखि राति ९ बजेसम्म निषेधाज्ञा लागू गर्ने तथा राति ९ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू आदेश जारी गर्ने निर्णय गरेको बताउनुभयो ।
उहाँका अनुसार, स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञाको अवधिमा बजार तथा पसलहरू खुला रहन सक्नेछन, सवारी साधन पनि सञ्चालन गर्न पाइनेछ। तर सार्वजनिक स्थलहरूमा मानिसको भिडभाड, जुलुस, सभा, प्रदर्शन, र्याली तथा कुनै किसिमका सामूहिक गतिविधि गर्न पूर्णतः प्रतिबन्धित गरिएको छ ।
प्रजिअ सुवेदीले भन्नुभयो, “निषेधाज्ञाको समयमा मानिसहरूलाई आवतजावत तथा व्यापारिक गतिविधिमा रोक लगाइएको छैन, तर भिडभाड गर्न पाइने छैन।” तर कफ्र्यू अवधिमा भने, सर्बसाधारणहरु घर बाहिर निस्कन पाउने छैनन् । यदि कसैले कफ्र्यू आदेश उल्लङ्घन गरेमा, स्थानीय प्रशासनले कडा कानुनी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
पर्सा प्रशासनले सर्वसाधारणलाई निर्धारित समय र नियमहरूको कडाइका साथ पालना गर्न आह्वान समेत गरेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आमनागरिकको चाहनाअनुरूप मुलुकमा शान्ति सुव्यवस्था र कानुनी राज्यको अनुभूति दिलाउँदै वर्तमान सरकारले तोकिएको समयसीमाभित्र निर्वाचन गराई सत्ता हस्तान्तरण गर्ने अपेक्षा वीरगन्ज सहित बारा, पर्साका स्थानीय बासिन्दाले गरेका छन् ।