वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरिएको बजेटलाई संशोधन गर्दै नगर पुनःनिर्माणमा प्राथमिकता दिने निर्णय गरेको छ। शनिबार सम्पन्न विशेष अधिवेशन (विशेष नगर सभा) ले उक्त प्रस्ताव सर्वसम्मत पारित गर्दै करिब ३० करोड रुपैयाँ पुनःनिर्माण कार्यमा खर्चिने व्यवस्था गरेको हो।
गत भदौ २४ गते सचेत युवाहरू (जेनजी) द्वारा भएको आन्दोलनका क्रममा महानगर कार्यालय भवनसहित अधिकांश संरचना पूर्णरूपमा ध्वस्त भएका थिए। आगजनी, तोडफोड र लुटपाटका कारण नगरको अधिकांश भौतिक सम्पत्ति खरानी बनेपछि सेवा प्रवाहमा गम्भीर अवरोध आएको थियो।
यसै कारण नगरसभाले नगरवासीलाई प्रभावकारी सेवा दिन तत्काल पुनःनिर्माण आवश्यक रहेको निष्कर्ष निकाल्दै पूँजीगत योजना, सामाजिक विकास कार्यक्रम तथा वडा–स्तरका अन्य योजनाबाट रकम कटौती गरी पुनःनिर्माणमा खर्च गर्ने निर्णय गरेको हो।
संशोधित बजेटअनुसार, प्रशासनिक भवन निर्माण, सवारी साधन खरिद, मेसिनरी उपकरण, कम्प्युटर, ल्यापटप, प्रिन्टर, फर्निचर, बिजुली तथा अन्य सामग्री खरिद, कार्यालय मर्मत, र गाडी भाडा लगायतका शीर्षकमा बजेट खर्च गरिने छ।
त्यसैगरी, विशेष अधिवेशनले आन्दोलनको क्रममा काठमाडौंमा प्रहरीको गोली लागी सहादत प्राप्त गरेका वीरगंज–१२ का असहाब आलमको परिवारलाई पाँच लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय पनि सर्वसम्मत पारित गरेको छ।
महानगरले संशोधित बजेटमार्फत नगर पुनःनिर्माण, भौतिक संरचना पुनःस्थापना तथा प्रशासनिक क्षमता अभिवृद्धि गर्ने कार्यलाई तीव्रता दिने स्पष्ट पारेको छ।