वीरगञ्ज । गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा भएको ठूलो क्षतिपछि पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ ।
महानगरका प्रमुख राजेशमान सिंहको कार्यकक्ष, उपप्रमुख इम्तियाज आलमको कार्यकक्ष, स्वास्थ्य शाखा, शैक्षिक प्रशासन महाशाखा, योजना शाखा, यान्त्रिक शाखा, वातावरण शाखा, राजश्व सङ्कलन शाखा, लेखा शाखा, जिन्सी शाखा र प्रमुख प्रशासकीय अधिकृतको क्वाटरमा समेत क्षति पुगेको थियो । आगजनी र तोडफोडले करिब १ सय १५ करोड रुपैयाँको क्षति भएको प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले बताउनुभयो ।
महानगरपालिकाले पुनर्निर्माणलाई प्राथमिकतामा राखेर तीव्र गतिमा काम अघि बढाएको छ । प्रमुख राजेशमान सिंहका प्राविधिक सल्लाहकार प्रकाश बहादुर अमात्यका अनुसार, आगजनीबाट पूर्ण रूपमा नष्ट भएका दुई वटा भवनलाई भत्काएर नयाँ निर्माण गर्ने योजना छ । नयाँ भवन निर्माणका लागि नगर परिषद्को बैठकबाट विशेष बजेट अनुमोदन गरिएको छ भने दातृ निकायहरूसँग समन्वय भइरहेको छ ।
पुनर्निर्माणको पहिलो प्राथमिकतामा राजश्व सङ्कलन शाखालाई राखिएको छ । शाखालाई महानगरको सभा कोठाको तलमा स्थानान्तरण गरी निर्माण कार्य सुरु भएको अमात्यले बताउनुभयो । “राजश्व शाखा महानगरको आर्थिक गतिविधिको मेरुदण्ड हो, त्यसैले यसको पुनर्स्थापनालाई प्राथमिकता दिइएको छ,” उहाँले भन्नुभयो । लेखा शाखालाई पनि राजश्व शाखाको छेउमा निर्माण गर्ने तयारी भइरहेको छ ।
महानगर भित्र रहेको पूर्वतर्फका भवनहरूमा ठूलो क्षति नभएकोले भवनमा रंगरोगन र मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । योजना शाखाको भवनको पहिलो र दोस्रो तलमा बढी क्षति भएको छ, तर तेस्रो तलमा खासै क्षति नभएको अमात्यले जानकारी दिनुभयो ।। “पहिलो र दोस्रो तलको मर्मतसँगै तेस्रो तलमा पनि आवश्यक मर्मत गरेर योजना शाखालाई पुनः सञ्चालनमा ल्याउने योजना छ,” उहाँले बताउनुभयो । भवनमा शैक्षिक प्रशासन महाशाखालाई पनि स्थानान्तरण गरी काम सुरु गरिने भएको छ ।
आगजनीमा लेखा, राजश्व र शैक्षिक प्रशासन महाशाखाका कागजात र उपकरणहरू पूर्ण रूपमा नष्ट भए पनि ९५ प्रतिशत कागजातहरूको डिजिटल प्रतिलिपि सुरक्षित रहेको अमात्यले बताउनुभयो । “राजश्व शाखाका अधिकांश डकुमेन्टहरू डिजिटल रूपमा सुरक्षित छन्, जसले पुनर्निर्माण र सेवा प्रवाहमा सहजता ल्याएको छ,” उहाँले बताउनुभयो । । डिजिटल प्रतिलिपिको आधारमा शाखाहरूको काम निरन्तर भइरहेको छ ।
आगजनीमा नष्ट भएका कम्प्युटर, प्रिन्टर, हार्ड ड्राइभलगायतका उपकरणहरू खरिदका लागि महानगरले तयारी गरिरहेको छ । साथै, नगर प्रहरीमार्फत लुटपाट गरिएका सामानहरू फिर्ता ल्याउने अभियान पनि चलिरहेको छ ।
पुनर्निर्माण कार्य अन्तिम चरणमा पुगेको र एक साताभित्र अधिकांश कार्य सम्पन्न हुने अमात्यले दाबी गर्नुभयो । रेडियो नेपाल