वीरगंज । भारतमा अवैध बस्दै आएका केही रोहिंग्या नेपाल प्रवेश गरिसकेका छन् । हाल भारतमा मतदाता शुद्धीकरणका लागि स्पेसल इन्टेन्सिभ रिभिसन (एसआइआर) कार्यक्रम चलिरहेको छ । त्यो कार्यक्रमले प्रभावित हुने भएपछि रोहिंग्यालगायत भारतमा अवैध रूपमा बस्दै आएका नेपाल आउन थालेको सूचना सुरक्षा निकायको छ । नेपालमा करिब ६ सय रोहिंग्या अवैध रूपमा प्रवेश गरी बस्दै आएका छन् ।
मधेश प्रदेशअन्तर्गत सप्तरीदेखि पर्सासम्म आठ जिल्लाका भारतसँग सीमा जोडिएका ४५६ किलोमिटर खण्डमा चार दिनदेखि २४सै घण्टा चेकजाँच भइरहेको महोत्तरीको बर्दीवासस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीले जनाएको छ । बाहिनीका सूचना अधिकारीसमेत रहेका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक अशोककुमार बमका अनुसार आठवटै जिल्लास्थित भन्सार नाकासहित अन्य सहायक नाकाबाट सीमा वारपार गर्नेको ६५ वटा बोर्डर आउटपोस्ट र प्रस्तावित सीमा सुरक्षा गुल्ममार्फत जाँच गर्ने, आधिकारिक कागजात हेर्ने गरिएको छ । ‘अहिलेसम्म अनधिकृत ढंगले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन्,’ उनले भने ।
सप्तरीको कुनौली, छिन्नमस्ता र बेलही, सिराहाको ठाढी र माडर भन्सारसहित बरियारपट्टी, नरगी कचनारी, गोरगम्मा, अभयनगर, कमलपुर नाका, धनुुषाको जटही भन्सारसहित खजुरी, महिनाथपुर, दुहबी, हरिने, खौना नाकामा चेकजाँच बढाइएको छ । महोत्तरीको भिठ्ठामोड भन्सारसहित मटिहानी, समसी, इटहर्वाकट्टी, कट्टीकटैया, पोखरभिन्डा, रघुनाथपुर, खैरबन्नी, सर्लाहीको मलंगवा भन्सारसहित सोनर्सा नाका, रौतहटको गौर भन्सारसहित मटिहा, रामपुर खाप, बंकुल नाका, बाराको मटियर्वा छोटी भन्सारसहित झरोखर, सतुवाई, बैरिया, माङ्सांग्राम, गुलरिया, त्रिवेणीघाट, सन्तगन्ज, सनफुलवा, अमुवा, छतवा, मुसहरवा, बलिरामपुर नाका हुँदै आउनेहरूको चेकजाँच भइरहेको छ ।
मधेश प्रदेशमै सबैभन्दा बढी भारतसँग सीमा जोडिएको पर्साको १०७ किलोमिटर खण्डमा पर्ने वीरगन्ज भन्सारसहित अलौ, अमरपट्टी, पर्सौनी भाटा, भिसवा, ठोरी, पकाहामैनपुरमा १७ युनिटमा कार्यरत सशस्त्र प्रहरीबाट चेकजाँच गरिरहेको बमले बताए । नेपाल प्रहरी, मधेश प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वरिष्ठ प्रहरी उपरीक्षक कमल थापाका अनुसार गृह मन्त्रालयको परिपत्रअनुसार आठवटै जिल्ला प्रहरीमातहत सीमावर्ती क्षेत्रमा पर्ने प्रहरी युिनटहरूबाट चेकजाँच भइरहेको, तर अहिलेसम्म अवैध रूपले प्रवेश गर्न खोज्नेहरू भेटिएका छैनन् ।