वीरगञ्ज । शितलहर शुरु भएसँगै सर्वसाधारणलाई जोगाउन पर्सा जिल्लामा आवश्यक तयारी थालिएको छ ।
यसबर्ष पुस महिनाको प्रारम्भ सँगै शीतलहर शुरुभएको हुँदा यसले बर्सेनि पर्सा सहितका तराई मधेसका जिल्लाहरूमा पार्ने प्रभावलाई न्यूनीकरण गर्न यसपटक पर्सामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले शीतलहर सुरु हुनु पहिले नै पूर्वतयारी थालेको पर्साका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला बिपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिका अध्यक्ष भोला दाहालले बताउनुभयो ।

मधेसमा शीतलहर वर्षैपिच्छे भोग्दै आएको समस्या भएको र यसबाट क्षति हुन थालेपछि यसको व्यवस्थापन बढी खर्चिलो र समाल्न धौधौ पर्ने हुँदा समयमानै यसको पुर्वतयारी थालिएको दाहालले बताउनुभयो ।
शीतलहरबाट उत्पन्न हुने समस्या र पूर्व तयारीका बारेमा पर्सामा आवश्यक गृहकार्य शुरु भइसकेको बताउँदै प्रमुख जिल्ला अधिकारी दाहालले पर्साका १४ वटै पालिकाका प्रमुखहरू, सामाजिक सङ्घसंस्था र जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू सहितको बृहत् बैठक सम्पन्न भएको बताउनुभयो ।
बिपद व्यवस्थापन समितिले यसअघि शीतलहर प्रभावितहरूको उद्धार तथा राहतमा संस्थागत योगदान दिँदै आएका संस्थाहरू, विभिन्न व्यक्तित्व र निकायसँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिनुभयो ।

जिल्लाका सबै गैरसरकारी संस्थाहरूलाई यस काममा अभिप्रेरित गर्दै स्थानीय तहसँगको सहकार्यमा शीतलहर प्रतिकार्य योजना निर्माण र कार्यान्वयनमा जोडिन बिपद व्यवस्थापन समितिले निर्देशन दिएको छ ।
पर्सा सहित तराई मधेसका जिल्लाहरूमा शीतलहरको समयमा बर्सेनि मानवीय क्षति, स्वास्थ्य समस्या र कृषिबालीमा समेत ठूलो परिमाणमा नोक्सानी हुँदै आएको छ । यसपालि शीतलहरका बेला आवश्यक पर्ने दाउराको प्रबन्ध मिलाउन सम्बद्ध पक्षलाई सचेत गराइएको समेत प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
पुस २ गते बुधवार रातिदेखि चलेको पश्चिमी हावाको प्रभावले पर्सा जिल्लामा चिसो उल्लेख्य रूपमा बढेको छ । बिहीबारदेखि शीतलहर सुरु भएसँगै जनजीवन प्रभावित हुन थालेको छ ।
मौसम विभागले यसअघि नै यस वर्ष गत वर्षको तुलनामा चिसो बढी हुने पूर्व सूचना जारी गरिसकेको छ ।
यसपालि चिसो चाँडै सुरु भएसँगै वीरगन्ज महानगर तथा जिल्लाका विभिन्न पालिकाहरूमा दैनिक जनजीवन प्रभावित भएको छ ।

सरकारी कार्यालय तथा सेवा केन्द्रहरूमा सेवाग्राहीको सङ्ख्या पातलिएको छ भने बजार तथा सार्वजनिक स्थानमा सर्वसाधारणको चहलपहल घटेको छ ।
चिसोबाट जोगिन घर आँगनमा आगो बालेर ताप्ने क्रम बढेको छ । दाउरा उपलब्ध स्थानमा दाउराको प्रयोग भइरहेको छ भने अन्य स्थानमा कागज, कुटजस्ता सामग्री बालेर न्यानो हुने प्रयास भइरहेको छ । चिसो बढेसँगै दलित, गरिब तथा विपन्न परिवार बढी प्रभावित भएका छन् ।
बुधवार रातिदेखि शीतलहर सुरु भएपछि विद्यालयहरूमा विद्यार्थीको उपस्थिति पनि घट्न थालेको जनाइएको छ ।
स्थानीयवासीले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्ने र सरोकारवाला निकायले विपन्न समुदायका लागि राहत तथा न्यानो सामग्रीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । रेडियो नेपाल