विरगंज । हिन्दू परिषद् नेपालले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि भइरहेका दमन, आक्रमण तथा अमानवीय घटनाप्रति गम्भीर आपत्ति जनाउँदै घटनाहरू तत्काल रोक्न माग गरेको छ ।
प्रसौनी गाउँपालिका कार्य समितिले जारी गरेको विज्ञप्तिमा बङ्गलादेशमा पछिल्लो समय विशेषगरी हिन्दु अल्पसङ्ख्यक समुदाय लक्षित हिंसात्मक घटनाहरू बढ्दै गएकोप्रति गहिरो पीडा, आक्रोश र चिन्ता व्यक्त गरिएको छ । यस्ता घटनाले केवल एक समुदाय मात्र होइन, सम्पूर्ण मानव सभ्यता, सहअस्तित्व र विश्व मानवीय संस्कृतिमाथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा राज्यको मुख्य दायित्व आफ्ना नागरिकहरूको जीवन, मर्यादा, धार्मिक स्वतन्त्रता र सुरक्षाको संरक्षण गर्नु भएको उल्लेख गर्दै कुनै समुदाय राज्य संयन्त्रको कमजोरी, मौनता वा उदासीनताका कारण पटक–पटक लक्षित हुनु गम्भीर शासकीय असफलता र राष्ट्र धर्म (राजधर्म)को उल्लङ्घन भएको बताइएको छ ।
बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमाथि भइरहेका घटनाले त्यहाँको शासन व्यवस्था, मानवअधिकारको अवस्था तथा अल्पसङ्ख्यक संरक्षणप्रति अन्तर्राष्ट्रिय स्तरमै चिन्ता बढाएको परिषद् को ठहर छ ।
धर्म, जात वा पहिचानको आधारमा हुने कुनै पनि प्रकारको हिंसा, दमन र अत्याचार सभ्य समाजका लागि अस्वीकार्य, निन्दनीय र आपराधिक भएको स्पष्ट गर्दै यस्ता घटनामा मौन बस्नु अन्यायलाई अप्रत्यक्ष समर्थन गर्नु सरह हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।हिन्दू परिषद् नेपालले बङ्गलादेशमा हिन्दु समुदायमाथि भएका सबै प्रकारका हिंसात्मक घटनाको कडा शब्दमा निन्दा गर्दै पीडितहरूप्रति गहिरो समवेदना, ऐक्यबद्धता र समर्थन व्यक्त गरेको छ ।
त्यस्तै, बङ्गलादेश सरकारलाई दोषीहरू पहिचान गरी निष्पक्ष, पारदर्शी र कडा कानुनी कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन ठोस संरचनात्मक कदम चाल्न कडा माग गर्दै हिन्दू परिषद् नेपाल प्रसौनी गाउँपालिका का अध्यक्ष अरबिन्द कुमारले बताएका छन् ।