पर्सा । वीरगञ्ज महानगरपालिका–७ गहवा टोलमा ज्यान मार्ने प्रयाससहितको गम्भीर घरेलु हिंसाको घटना भएको आरोप सार्वजनिक भएको छ। सोही टोल निवासी मधु कुमारी गुप्ताले आफ्नै पति तथा ससुराली पक्षबाट लामो समयदेखि शारीरिक, मानसिक तथा आर्थिक हिंसा सहँदै आएको गुनासो गरेकी छन्।
पीडितका अनुसार करिब चार वर्षअघि जातीय परम्पराअनुसार उनको विवाह नरेश कुमार गुप्तासँग भएको थियो। विवाहपछि पति रोजगारीका सिलसिलामा बुटवल गएको र त्यसयता उनी ससुराली घरमै बस्दै आएकी थिइन्। पति बाहिर रहेको समयमा सासु मीना देवी, ससुरा नागेन्द्र साह कानु, नन्दहरू सुनैना देवी र गीता देवीबाट निरन्तर दुर्व्यवहार सहनु परेको पीडितको भनाइ छ।
पीडितले ससुराली पक्षबाट घरमा बस्न नदिने, खान–लाउन नदिने, गालीगलौज गर्ने, पटक–पटक कुटपिट गर्ने तथा घरबाट निकाल्ने जस्ता अमानवीय व्यवहार भोग्नुपरेको बताएकी छन्। साथै आत्महत्या गर्न दबाब दिने, पारिवारिक तथा आर्थिक सहयोगबाट वञ्चित गर्ने र निरन्तर अपमानजनक व्यवहार गर्ने कार्य लामो समयदेखि हुँदै आएको उनको आरोप छ।
यस विषयमा स्थानीय भद्रभलाद्मी तथा आफन्तको रोहबरमा पटक–पटक छलफल र सम्झाइ–बुझाइ गरिए पनि ससुराली पक्षको व्यवहारमा कुनै सुधार नआएको पीडितले बताएकी छन्।
पीडितका अनुसार जिल्ला प्रहरी कार्यालय बिर्ता को पहलमा मिति २०८२/०८/०७ गते छलफल भई ससुराली घरमै बसोबासका लागि उनलाई एक कोठा र एक भान्सा उपलब्ध गराउने सहमति भएको थियो। तर सहमतिपछि घर फर्किँदा बस्न दिइएको कोठामा घर निर्माणका लागि राखिएको बालुवा थुपारिएको अवस्थामा फेला परेको र पटक–पटक हटाइदिन आग्रह गर्दा पनि बेवास्ता नगरिएको उनको भनाइ छ। सोही विषयमा कुरा गर्दा सासु मीना देवीले गालीगलौज गर्दै हातपात सुरु गरेको आरोप लगाइएको छ।
पीडितका अनुसार मिति २०८२/०९/१० गते दिउँसो करिब २:०० बजे उक्त विवाद चर्किँदै जाँदा ससुराली पक्षले अश्लील शब्द प्रयोग गर्दै लात, मुक्का, फलामे पाइप तथा लाठी प्रहार गरी कुटपिट गरेका थिए। कुटपिटका कारण पीडितको नाक, दाहिने आँखा, अनुहार तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको जनाइएको छ। उक्त आक्रमण ज्यान मार्ने नियतले गरिएको पीडितको दाबी छ।
घटनापछि पीडितलाई माइती पक्षको सहयोगमा नारायणी अस्पताल, वीरगञ्जमा उपचारका लागि भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य परीक्षण तथा उपचार प्रक्रिया हाल जारी रहेको छ।
पीडित मधु कुमारी गुप्ताले उपचारपछि चिकित्सकीय प्रमाण संकलन गरी ज्यान मार्ने प्रयास तथा घरेलु हिंसासम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाउने तयारी गरिरहेको बताएकी छन्। उनले दोषीमाथि कडा कानुनी कारबाही, सम्पूर्ण उपचार खर्च, क्षतिपूर्ति तथा न्यायको सुनिश्चितता माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।