वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका बासिन्दाले वर्षौँदेखि भोग्दै आएको खानेपानीको चरम अभाव अब अन्त्य हुने भएको छ । नेपाल सरकारका पूर्व खानेपानी मन्त्री तथा पूर्व सांसद प्रदीप यादवको निरन्तर र दूरदर्शी पहलको फलस्वरूप “वीरगञ्ज खानेपानी वितरण प्रणाली” निर्माणका लागि महानगरपालिकाले ठेक्का आह्वान गरेको छ । परियोजना वीरगञ्जवासीका लागि साँच्चैको वरदान साबित हुने निश्चित छ ।
विगत चार वर्षदेखि विशेष गरी गर्मीयाममा खानेपानीको विकराल समस्या झेल्दै आएका वीरगञ्जका लाखौँ नागरिकलाई २४ घण्टे सुरक्षित तथा शुद्ध खानेपानी उपलब्ध गराउने महत्त्वाकाङ्क्षी योजना पूर्व मन्त्री यादवको व्यक्तिगत प्रतिबद्धता र अथक प्रयासको उत्कृष्ट नमुना हो ।
यादवले खानेपानी मन्त्री हुँदा नै यो समस्यालाई गम्भीरतापूर्वक लिएका थिए । मन्त्री पदबाट अलग भएपछि पनि आफ्नो क्षेत्रका जनताको पीडालाई निरन्तर उठाउँदै आएका थिए । उनको दूरगामी सोच र विभिन्न दातृ निकायसँगको प्रभावकारी संवादले नै एसियाली विकास बैङ्क (एडिबी) को ठुलो लगानी यो परियोजनामा सम्भव भएको हो ।
परियोजनाअन्तर्गत वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १ देखि १४, १६ र २४ सम्मका सहरी क्षेत्रमा पाँच वटा आधुनिक ओभर हेड ट्याङ्की निर्माण गरिनेछ । ट्याङ्कीहरू सुगरमील, पदम रोड, वडा नम्बर २४, जिल्ला प्रशासन कार्यालय पर्साको पछाडि र आदर्शनगरमा रहनेछन् । प्रत्येक ट्याङ्कीको क्षमता ३ देखि ८ लाख लिटरसम्म हुनेछ । साथै, सहरभरि ३२२ किलोमिटर लामो उच्च गुणस्तरको पाइपलाइन विस्तार गरिने योजना छ ।
प्रणालीले पाइप लाइनमार्फत नियमित र सुरक्षित खानेपानी वितरण मात्र होइन, उच्च प्रविधिको प्रयोग गरी नियमित निरीक्षण र मर्मत सम्भारको व्यवस्था पनि गर्नेछ । फलस्वरूप पाइप फुट्ने, लिकेज हुने जस्ता पुराना समस्याहरू पूर्ण रूपमा निर्मूल हुनेछन् । पूर्व मन्त्री यादवको पहलले वीरगञ्जलाई एउटा आधुनिक र भरपर्दो खानेपानी संरचना प्रदान गर्दै छ ।
वीरगञ्जका स्थानीय बासिन्दा, राजनीतिक दलका नेता-कार्यकर्ता तथा नागरिक समाजका अगुवाहरूले पूर्व मन्त्री प्रदीप यादवको योगदानको व्यापक प्रशंसा गरेका छन् । उनीहरूले यादवलाई “वीरगञ्जको खानेपानीको मसिहा” को संज्ञा दिँदै उनको दूरदर्शिता, जनसेवाको भावना र विकासप्रतिको समर्पणलाई हार्दिक बधाई दिएका छन् । “प्रदीप यादवज्यूले जनताको आधारभूत आवश्यकता बुझेर निरन्तर सङ्घर्ष गर्नुभयो । उहाँको पहल बिना यो परियोजना सम्भव थिएन,” एक स्थानीयले भने ।
परियोजना पूरा भएपछि वीरगञ्जका लाखौँ नागरिकले शुद्ध र नियमित खानेपानी पाउने मात्र होइन, स्वास्थ्य, सरसफाइ र जीवनस्तरमा पनि उल्लेखनीय सुधार आउनेछ ।