वीरगंज । वीरगंज महानगरपालिका–आदर्शनगरस्थित विवादित स्काई लाइन मलभित्र सञ्चालित क्यासिनो र किङ्स् क्यासिनोमा कानुनविपरीत नेपाली नागरिकलाई खुलेआम प्रवेश गराइँदै जुवाजन्य गतिविधि सञ्चालन भइरहेको तथ्य पुनः सतहमा आएको छ। भारतीय तथा विदेशी नागरिकलाई मात्र प्रवेश दिनुपर्ने प्रचलित कानुनी व्यवस्थालाई बेवास्ता गर्दै बारा, पर्सा, रौतहटलगायतका जिल्लाका नेपाली युवाहरूलाई नक्कली भारतीय आधारकार्डसहित क्यासिनो प्रवेश गराइँदै आएको स्रोतले जनाएको छ।
वडा प्रहरी कार्यालय बिर्ता र प्रहरी चौकी आदर्शनगरकै प्रत्यक्ष संरक्षणमा क्यासिनो सञ्चालन भइरहेको गम्भीर आरोप स्थानीयस्तरमै उठिरहेको छ। प्रहरी कार्यालय नजिकै रहेको क्यासिनोमा नेपाली युवाहरू दैनिक लाखौँ रुपैयाँ हारेर आर्थिक र मानसिक रूपमा बिचल्लीमा पर्दा पनि नियमन निकाय मौन देखिएको छ।
वडा प्रहरी कार्यालय बिर्तामा यतिबेला प्रहरी निरीक्षक विक्रम सुबेदीले कमाण्डरको भूमिकामा बसेका छन्। उनी आएदेखि वडा प्रहरी कार्यालय बिर्ता क्षेत्रमा पटक पटक गैर कानूनी क्रियाकलाप हुने, पीड़ितमाथि झन पीड़ा थपिने, आपराधिक मनोवृत्ति भएका व्यक्तिको चलखेल बढ़ी हुने गरेका घटनाहरू एक पछि अर्को गरेर सार्वजनिक भैरहेका छन्।
यसैबीच, अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्व संध्यामा डिसेम्बर ३१ को राति किङ क्यासिनोमा आयोजित विशेष मनोरञ्जन कार्यक्रममा बाराका एक नेपाली युवाले करिब २० लाख रुपैयाँ हारिएको घटना सार्वजनिक भएको छ। राति करिब १० बजेदेखि सुरु भएको कार्यक्रममा मदिरामा लठिएका ग्राहकहरूको ठूलो भीड थियो। कार्यक्रममा भारत बिहारकी चर्चित अभिनेत्री आम्रपाली दुबे सहित आधा दर्जनभन्दा बढी महिला डान्सरहरूको प्रस्तुति रहेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
आम्रपाली दुबेले राती १२ बजे केक काट्दै नयाँ वर्षको स्वागत गरेकी थिइन् भने त्यसपछि राति २ बजेसम्म कार्यक्रम अझ उत्तेजक र अश्लील बन्दै गएको बताइएको छ। भोजपुरी गीतहरूमा प्रस्तुत नृत्य, खुला मदिरा सेवन र जुवाजन्य गतिविधिले क्यासिनोको वातावरण अराजक बनेको थियो।
उक्त रात क्यासिनोभित्र वीरगंज, कलैया, गौर, सिमरा तथा बारा–पर्साका ग्रामीण क्षेत्रबाट आएका नेपाली युवाहरूको उल्लेख्य उपस्थिति थियो। यसका साथै एक दर्जनभन्दा बढी पाको उमेरका नेपाली नागरिकहरू पनि क्यासिनोभित्र देखिएका थिए।
नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा स्पष्ट प्रतिबन्ध रहे पनि प्रहरी प्रशासनको आँखा अगाडि नै नेपालीहरूको खुला प्रवेश, मदिरा सेवन र जुवा सञ्चालन भइरहनु गम्भीर प्रश्नको विषय बनेको छ। स्थानीय बासिन्दाहरूका अनुसार यस्ता क्यासिनोका कारण थुप्रै नेपाली युवाहरूले सम्पत्ति गुमाइसकेका छन् भने कतिपय परिवार आर्थिक तथा सामाजिक रूपमा तहसनहस अवस्थामा पुगेका छन्।
स्काईलाइन मलमा क्यासीनो संचालनको अनुमतिमाथि अदालतले रोक लगाएपनि निर्वाध संचालन भईका नुनको ठाडो उल्लङ्घन भइरहँदा पनि सम्बन्धित प्रहरी निकाय किन मौन छन् भन्ने प्रश्न वीरगंजमा झन् पेचिलो बन्दै गएको छ।