बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवा नेता तथा सामाजसेवी अकवर हवारीले प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बारा क्षेत्र नं. ४ मा उम्मेदवार छनोट प्रक्रिया स्वयं पार्टीको विश्वसनीयताको परीक्षा हुने बताएका छन्।
पैसाको बलमा चुनाव जित्न खोज्ने पुराना राजनीतिक अनुहारलाई एकल नामका रूपमा अघि बढाइए त्यसले जनभावनाको अपमान हुने उनको भनाई छ । हवारीका अनुसार बारा–४ मा मतदाताको सोच स्पष्ट रूपमा परिवर्तन भइसकेको छ । बन्द कोठाभित्र हुने निर्णय, पूँजी र पहुँचमा आधारित उम्मेदवारी अब स्वीकार्य छैन ।
“यदि रास्वपाभित्रै बसेर पनि जनताको चाहनाविपरीत नाम सिफारिस गरियो भने त्यो परिवर्तनको राजनीतिमाथि आत्मघाती प्रहार हुनेछ,” उनले भने । उनले पार्टी नेतृत्वलाई उम्मेदवार छनोटमा औपचारिक प्रक्रिया होइन, वास्तविक जनसंवाद अपनाउन आग्रह समेत गरे । युवाहरू, पेशागत समूह, नागरिक समाज र पार्टीका जुझारु कार्यकर्तासँग छलफल नगरी लिइने कुनै पनि निर्णयले पार्टीलाई घाटा पु¥याउने उनको धारणा छ । “यो चुनाव धन प्रदर्शनको होइन, भरोसा निर्माणको लडाइँ हो,” हवारीले स्पष्ट पारे ।
जेन–जी आन्दोलनपछि राजनीतिक चेतनामा आएको परिवर्तनलाई संकेत गर्दै उनले पुरानो गुटगत र पैसावादी राजनीति अब इतिहास बन्दै गएको दाबी गरे । “पैसाले मत किन्ने राजनीति यसपटक बारा–४ मा असफल हुने निश्चित रहेको,” उनको भनाइ छ । रास्वपाले पुरानो व्यवस्थाको विकल्प दिन खोजिरहेको स्मरण गराउँदै हवारीले स्वच्छ छवि, पेशागत क्षमता र परिणाममुखी सोच भएका युवाहरूलाई अघि सार्नुपर्ने बताए । उनका अनुसार बारा–४ लाई अब भाषण होइन, नीति र परिणाम देखाउने नेतृत्व चाहिएको छ ।
हवारीको यो अभिव्यक्तिले रास्वपाभित्र उम्मेदवार छनोटलाई लिएर बढ्दो आन्तरिक बहसलाई थप तीव्र बनाएको छ। बारा–४ मा को उम्मेदवार बन्ने भन्ने प्रश्न मात्र नभई, पार्टीले कस्तो राजनीति रोज्छ भन्ने बहससमेत केन्द्रमा आएको देखिन्छ।