पर्सा । नेपाल राष्ट्र बैंक वीरगन्ज शाखाले यस क्षेत्रमा डिजिटल स्क्यामका घटना बढ्दै गएको भन्दै सर्वसाधारणलाई सतर्क रहन सचेत गराएको छ।
शाखाले शुक्रबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा शाखा व्यवस्थापक सुशील पौडेलले सम्बन्ध, लगानी, रोजगारी, अनपेक्षित रकम, किनबेच तथा नक्कली पहिचान जस्ता वाहानामा हुने डिजिटल ठगी तीव्र रूपमा बढिरहेको बताए। उनले स्क्याम प्रायः एसएमएस, फोन कल, इमेल, सामाजिक सन्जाल, वेबसाइट तथा प्रत्यक्ष सम्पर्कमार्फत हुने गरेको बताए ।
पौडेलका अनुसार स्क्यामका क्रममा सजिलो पैसा कमाउने प्रलोभन, अस्वाभाविक भाषा, शंकास्पद लिंक वा फाइल, छिटो निर्णय गर्न दबाब, अनधिकृत भुक्तानी अनुरोध तथा नया पे–आईडी माग जस्ता ‘रेड फ्ल्याग’ देखिने गरेका छन् । यस्ता संकेतलाई बेवास्ता गर्दा सूचना चुहावट, आर्थिक क्षति र मानसिक तनावसम्म भोग्नुपर्ने अवस्था आउन सक्ने उनले बताए।
डिजिटल स्क्यामका कारण डाटा चोरी, डिजिटल अरेस्ट, रिमोट एक्सेस मार्फत मोबाइल वा कम्प्युटर नियन्त्रणमा लिने, बैंक खाताबाट रकम झिक्ने जस्ता घटना बढ्दै गएको उनले बताए। पौडेलले वित्तीय अनुशासनमा जोड दिँदै प्रयोगकर्तालाई आफ्नो युजरनेम, पासवर्ड, पिन र ओटीपी साझा नगर्न आग्रह गरे ।सुरक्षित इमेल, एसएमएस, उपकरण, नेटवर्क तथा एप्लिकेसन प्रयोग गर्न, बलियो पासवर्ड र मल्टिफ्याक्टर प्रमाणीकरण अपनाउन तथा एपहरूलाई दिइने अनुमतिबारे सचेत रहन सुझाव दिए ।
उनले डिजिटल स्क्यामबाट जोगिन तीन सरल उपायसमेत सुझाए । जसमा, शंका लागेमा पैसा वा व्यक्तिगत जानकारी नदिनु, आएको सन्देश वा कल नक्कली हुन सक्छ कि भनेर जााच गर्नु र ठगी भएमा तुरुन्त बैंक, प्रहरी तथा सम्बन्धित नियामक निकायमा जानकारी गराउनु रहेको छ । डिजिटल युगमा ठगीका स्वरूप बद्लिँदै गएकाले सतर्कता नै सबैभन्दा ठूलो सुरक्षा रहेको पनि उनले बताए ।
पत्रकार सम्मेनलमा वीरगन्जस्थित बिभिन्न वाणिज्य बैंकका प्रादेशिक तथा शाखा प्रबन्धकहरु पनि उपस्थित थिए। उनीहरुले पनि यस भेगमा पछिल्लो समय बैंकिङ स्क्यामका घटना बढ्दै गएकाले सावधानी आवश्यक रहेको बताएका थिए । साभार : इकान्तिपुर