वीरगञ्ज । भारतको महावाणिज्य दूतावास, वीरगञ्जको आयोजनामा जनवरी २६, २०२६ मा दूतावास परिसरभित्र भारतको ७७औँ गणतन्त्र दिवस भव्य रूपमा सम्पन्न भएको छ।
समारोहको सुरुवात महावाणिज्यदूत श्री डी. एस. मीनाले भारतको राष्ट्रिय झण्डा फहराएर गर्नुभएको थियो। त्यसपछि भारतका सम्माननीय राष्ट्रपति महोदयको सन्देश वाचन गरिएको थियो।
कार्यक्रममा विशेष शिक्षा विद्यालयसहित वीरगञ्जका १२ विभिन्न विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको मनमोहक प्रस्तुतीले उपस्थित दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै देशभक्तिको भावना अभिव्यक्त गरेको थियो।
समारोहमा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सशस्त्र प्रहरी बलका उपरीक्षक, वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधिहरू, कवि, स्थानीय व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिकाहरू तथा विद्यार्थीहरू लगायत विभिन्न क्षेत्रका करिब ५०० जनाको उपस्थिति रहेको थियो।
गणतन्त्र दिवस समारोहसँगै दूतावास परिसरभित्र भारतको राष्ट्रिय गीत “वन्दे मातरम्” को १५०औँ वार्षिकोत्सवको अवसरमा विशेष राष्ट्रिय गीत प्रदर्शनीसमेत आयोजना गरिएको थियो। उक्त प्रदर्शनीमा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको दूतावासले जनाएको छ।