वीरगंज । नेपालीहरूका महान् पर्व शुभ दीपावली तथा छठ पर्वको पूर्वसन्ध्यामा ओसिस माध्यमिक विद्यालयमा पूर्व शिक्षक, शिक्षिका तथा पूर्व विद्यार्थीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
विद्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रम विद्यालयको एसएलसी पहिलो ब्याच (२०६९) का विद्यार्थी श्री बाल्मिकी महतोको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्री इन्द्र देव शाह, कोअर्डिनेटर सुनिता शाह, पूर्व शिक्षकहरू विष्णु शर्मा लोहार, रामनरेश यादव लगायत पूर्व शिक्षक तथा शिक्षिकाहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा २०६९ सालदेखि २०८२ सालसम्म एसएलसी तथा एसईई परीक्षा दिएका पूर्व विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। साथै विद्यालयमा हाल कार्यरत शिक्षक तथा शिक्षिकाहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागी पूर्व विद्यार्थीहरूले विद्यालयमा अध्ययन गर्दाका अविस्मरणीय अनुभव, रमाइला पल तथा पुराना सम्झनाहरू साझा गर्दै वर्तमान अवस्थामा विद्यालयले हासिल गरेको प्रगति र शैक्षिक गतिविधिप्रति चासो
व्यक्त गरेका थिए। उनीहरूले विद्यालयसँगको आत्मीय सम्बन्धलाई निरन्तर कायम राख्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। कार्यक्रममा विद्यालयको तर्फबाट शिक्षक मञ्जित यादवले विद्यालयको वर्तमान अवस्था, शैक्षिक गतिविधि तथा उपलब्धिहरूबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा उपस्थित पूर्व शिक्षक, शिक्षिका तथा पूर्व विद्यार्थीहरूलाई विद्यालयका शिक्षिकाहरू सम्झना ठाकुर र अनु चौधरीले खादा तथा टीका लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो। कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल श्री इन्द्र देव शाहले विद्यालयको विगत, वर्तमान अवस्था र भावी योजनाबारे प्रकाश पार्दै विद्यालयको विकासमा पूर्व शिक्षक, शिक्षिका तथा पूर्व विद्यार्थीहरूको योगदान र आत्मीय सम्बन्धको महत्त्वमाथि चर्चा गर्नुभएको थियो।
उहाँले विद्यालय र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आगामी दिनमा पनि यस्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई निरन्तरता दिने धारणा व्यक्त गर्नुभयो। आपसी सद्भाव, आत्मीयता र पुराना सम्झनाहरू साटासाट गर्दै सम्पन्न उक्त कार्यक्रमले विद्यालय परिवार र पूर्व विद्यार्थीबीचको सम्बन्धलाई थप सुमधुर बनाएको छ। कार्यक्रमको सञ्चालन शिक्षिका अनु मलिकले गर्नुभएको थियो।