वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।
घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदाताहरु सँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएकी हुन् । साथै उनले नेकपा एमालेको नीति, कार्यक्रम तथा आगामी दिनमा जनताको हितमा गरिने योजनाबारे स्पष्ट पारेकी थिईन ।
स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत समस्याहरू उठाएका थिए । ती समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार यादवले विकास र सुशासन आफ्नो प्राथमिकता हुने बताईन ।
स्थानीय मतदाताहरूले जेनजी आन्दोलनको मर्मअनुसार एमालेले शिक्षित, सक्षम र नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै प्रशंसा गरेका थिए ।
कार्यक्रमका क्रममा केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने घोषणा गर्दै नयाँ सोच र ऊर्जा बोकेकी जेनजी उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रम मार्फत जनता सँग नजिकिने अवसर मिलेको भन्दै पार्टीले यसलाई प्रभावकारी अभियानका रूपमा लिएको जनाएको छ ।