बीरगंज । जिल्ला सुरक्षा समिति पर्साले भारतीय सीमा क्षेत्रसँग जोडिएका निर्वाचन क्षेत्रको मतदान केन्द्रहरूलाई सुरक्षाको दृष्टिकोणले अति संवेदनशील घोषणा गरी कडा सुरक्षा व्यवस्था मिलाएको छ ।
पर्सा जिल्लामा रहेका १ सय ६७ मतदान स्थल मध्ये ६२ वटा मतदान स्थललाई सुरक्षा समितिले अति संवेदनशील सूचीमा राखेको छ ।
त्यसैगरी ८५ मतदान स्थल संवेदनशील र २० वटा कम संवेदनशील सूचिमा रहेका छन् ।
पर्सा जिल्लामा दुई अस्थायीसहित कुल ४ सय ४३ मतदान केन्द्र कायम गरिएको छ । ४ निर्वाचन क्षेत्र रहेको पर्सामा क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ मतदान स्थल रहेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला सुरक्षा समितिले मतदान स्थलको स्थलगत निरीक्षणलाई समेत तीव्रता दिएको छ । हालसम्म ६० वटाभन्दा बढी मतदान स्थलको स्थलगत निरीक्षण सम्पन्न गरिएको जानकारी दिनुहुँदै पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सुरक्षा समितिले मतदान स्थलको भौतिक अवस्था, सम्भावित सुरक्षा जोखिम र तयारीको मूल्याङ्कन गरिरहेको बताउनुभयो ।
उहाँले निरीक्षणका आधारमा सुरक्षा रणनीति परिमार्जन गर्नुका साथै सुरक्षा निकायबीच समन्वय बढाइएको समेत जानकारी दिनुभयो ।
खुला सीमा रहेको पर्सामा निर्वाचन अवधिभर सीमा क्षेत्रको निगरानी कडाइ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पर्साका प्रहरी उपरीक्षक सुदिपराज पाठकले जिल्लामा सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन भइसकेको जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यालय पर्साले मतदाता शिक्षामा जोड दिँदै निर्वाचन आचारसंहिताबारे सचेतना अभियान सञ्चालन गरिरहेको जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयकी प्रमुख अनामिका रौनियारले उम्मेदवारलाई भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्नु आचारसंहिता विपरीत भएको हुँदा निर्वाचनमा भारतीय सवारी साधन प्रयोग गरेका उम्मेदवारहरूलाई सचेत गराउँदै अब आइन्दा प्रयोग नगर्न चेतावनी दिइएको बताउनुभयो । रेडियो नेपाल