राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ मा शंकास्पद वस्तु विस्फोट भएर ४ जना बालक घाइते भएको स्थलनजिकै एक महिनाअघि नेपाली सेना अभ्यास गरेर फर्किएको खुलेको छ ।
खोला छेउकै सामुदायिक वन नेपाली सेना बरख गण राजविराजको अभ्यासस्थल हो । त्यहाँस्थित सेनाले बेला-बेला विस्फोटक अभ्यास गर्दै आएको छ। पछिल्लो पटक एक महिनाअघि अभ्यास गरेर त्यहाँबाट सेना फर्किएको थियो ।
शनिबार सामुदायिक वननजिकै दुधैला खोलामा वनभोज खान पुगेका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने खेलौना दाउरासँगै जम्मा गरेर राखेका थिए । चुल्होनजिक राखिएको उक्त खेलौना अचानक विस्फोट भएको थियो ।
विस्फोटको छर्रा लागेर सोही ठाउँका साजन आले मगरका ११ वर्षका छोरा साहस, मनोज थापा मगरका ९ वर्षका छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षका छोरा कविर र पदमबहादुर विकका १३ वर्षको छोरा सुरज घाइते भएका थिए ।
घाइतेलाई मधेश प्रदेश प्रहरी अस्पताल रुपनीमा उपचारपछि रेफर गरेर छिन्नमस्ता अस्पताल राजविराज ल्याइएको छ । उनीहरुको उपचार भइरहेको छ । घाइतेमध्ये साहस र प्रशिसको खुट्टा र शरीरका विभिन्न भागमा र कविर र सुरजको शरीरको विभिन्न भागमा छर्रा लागेको हो ।
नेपाली सेना बरख गण राजविराजका प्रमुख सेनानी सोबितबहादुर चन्दले घटना भएको स्थलमा पुगेर अनुसन्धान गरिरहेको बताए । ‘अनुमति लिएर सामुदायिक वन (विस्फोटस्थल)मा हामी अभ्यास गर्छौं,’ उनले भने, ‘के-विस्फोट भएको विषयमा अनुसन्धान भइरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ती विषयमा सेनाले पनि अनुसन्धान गरिरहेको बताए । ‘त्यहाँबाट सेनाको अभ्यासस्थलनजिकै छ तर अभ्यासस्थल छाड्दा कुनै किसिमको विस्फोटक वस्तु नछुटेको भनी हामीलाई जानकारी आएको छ,’ उनले भने । इकान्तिपुर