वीरगंज । मदन गुप्ता ‘रुन्चे’को घरमा सञ्चालित सविता इन्टरप्राइजेजको गोदाममा छापामारी गर्न गएको भन्सार कार्यालयसहितको सशस्त्र प्रहरी टोलीमाथि भएको आक्रमण सामान्य झडप नभई योजनाबद्ध अराजकताको परिणाम भएको तथ्यहरू क्रमशः बाहिरिँदै गएका छन्। घटनाको जरो खोतल्दै जाँदा तस्करी सञ्जाल, सुरक्षा निकायको दोहोरो भूमिका र प्रशासनिक असक्षमताको गम्भीर तस्वीर देखिएको छ।
सविता इन्टरप्राइजेजका प्रोप्राइटर प्रमोद कुमार कानुले भाडामा लिएको उक्त गोदाममा यसअघि प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज भन्सारका सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीले चार दिनअघि छापामारी गरी कागजात जाँच गर्दा सबै प्रक्रिया ठीक देखिएको थियो। तर माघ २६ गते पुनः छापामारी गर्न जाँदा ‘१० बजे मान्छे साँचो लिएर आउँछ, त्यतिबेलासम्म कुर्नुहोस्’ भन्ने आग्रह अस्वीकार गरिँदा स्थिति तनावग्रस्त बनेको र त्यसै क्रममा कुटाकुटको अवस्था सिर्जना भएको बताइन्छ।
घटनालाई थप उत्तेजित बनाउने काम वीरगंज भन्सार कार्यालयका नायब सुब्बा हाफिजुल्लाह अंसारीको अमर्यादित व्यवहारले गरेको भिडियो सामाजिक संजालमा भाइरल बनेको छ। छापामारीका क्रममा उनले मर्यादित भाषा प्रयोग नगरी ठूलो स्वरमा बोलेपछि व्यापारी र सुरक्षाकर्मीबीच झडपको वातावरण बनेको थियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा ‘अरूको घरमा ताला फोडेर सामान लैजान मिल्छ ?’ भन्ने प्रश्नको जवाफमा अंसारीले ‘स्थानीय तहले सहयोग नगरे लाठी हानेर पनि सामान उठाउनुपर्छ भनेर कानुनमा लेखिएको छ’ भन्ने अभिव्यक्तिले आगोमा घिउ थपेको देखिन्छ।
यसैबीच, जिल्ला प्रहरी कार्यालय पर्साले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएको छ। तर नियन्त्रणमा लिइएकामध्ये तीन जना निर्दोष रहेको दाबी आफन्तजनले गरेका छन्। प्रहरीमाथि जाइलाग्ने चन्दन सर्राफबाहेक शिवचन्द्र साह, प्रितम तिवारी र प्रभु साह घटनास्थलमै नरहेको र उनीहरूलाई कोहीलाई घरबाट त कोहीलाई बाटोबाट नियन्त्रणमा लिइएको परिवारजनको भनाइ छ। यसले अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ।
घटनाको अर्को गम्भीर पाटो भने तस्करी सञ्जालसँग सुरक्षा निकायको मिलोमतो रहेको आरोप हो। प्रस्तावित सीमा सुरक्षा गुल्म अलौका डीएसपी डम्बर कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिक्रम सुवेदी र वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नविन थापा मगरको मिलेमतोमा तस्करहरूसँग पैसा बुझेर राती-राती, विशेषगरी जाडो यामको बाक्लो हुस्सुको फाइदा उठाउँदै ‘लाइन’ दिने गरिएको स्थानीय स्रोतहरूको दाबी छ। सीमा क्षेत्रमा सहजै भित्रिएका सामानहरूलाई अर्को युनिटले बजारको बीचमै रहेका गोदामबाट जबरजस्ती ताल्चा फोडेर उठाउन खोज्दा उक्त अप्रिय अवस्था सिर्जना भएको बुझिएको छ।
जानकारहरूका अनुसार वीरगंजसहित पर्सा जिल्लाका मुख्य नाकाहरूबाट तस्करहरूले मौका पारेर सशस्त्र प्रहरी बलका प्रस्तावित सीमा सुरक्षा गुल्म र बोर्डर आउट पोस्टहरू ‘मिलाएर’ वर्षौंदेखि तस्करी गर्दै आएका छन्। जब एउटै सञ्जालभित्र समन्वय भंग हुन्छ, त्यही बेला यस्ता झडप र आक्रमणका घटना सतहमा आउने गरेको उनीहरूको विश्लेषण छ।