वीरगञ्ज । मुलुकको प्रमुख भन्सार नाका बीरगंज हुँदै आर्थिक वर्ष २०८२÷०८३ को ७ महिनामा ५ खर्ब १९ अर्ब १ करोड बराबरको मालसामान आयात भएको छ ।
सो अवधिमा पेट्रोलियम पदार्थ मात्रै १ खर्ब ६ अर्ब ४३ करोडभन्दा बढीको वीरगंज नाकाबाट भित्रिएको भन्सारको तथ्याङ्कमा उल्लेख छ ।
वीरगंज नाकाबाट गत आर्थिक वर्ष २०८१÷०८२ को तुलनामा चालु आर्थिक वर्षको ७ महिनामा मालसामानको आयात १२ दशमलव ३५ प्रतिशतले वृद्धि भएको छ ।
वीरगंज भन्सार कार्यालयले गत आर्थिक वर्षको २०८१÷०८२ को ७ महिनामा ४ खर्व ६१ अर्ब ७० करोडको सामान आयात गरेको थियो भने यस वर्ष गत वर्षको तुलनामा ५७ अर्ब ३१ करोडको बढी सामान आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनालीले जानकारी दिनुभयो ।
वीरगंज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउन महिनामा ६७ अर्ब ९४ करोड मूल्य बराबरको सामान आयात गरेको छ भने भदौ महिनामा ७८ अर्ब ७ करोड, असोजमा ७२ अर्ब ८१ करोड, कार्तिकमा ६३ अर्ब ६१ करोड, मङ्सिरमा ७६ अर्ब ८१ करोड र पुसमा ७८ अर्ब ९८ लाख र माघमा ८० अर्ब ८२ करोड मूल्य बराबरको सामान आयात गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ६ अर्ब ४३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने ४६ अर्ब १६ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन् । सोही अवधिमा ३५ अर्ब ८७ करोड मूल्य बराबरको मेसीनरी पार्टपुर्जा आयात भएको छ भने ३५ अर्ब ६७ करोड मूल्य बराबरको भटमासको कच्चा तेल आयात भएको वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।
त्यसैगरी ७ महिनाको अवधिमा २५ अर्ब ८९ करोड मूल्य पर्ने मल खाद आयात भएको छ भने २७ अर्ब ९८ करोड मूल्य बराबरको इलेक्ट्रिक उपकरण तथा पार्टपुर्जा आयात भएको छ ।
वीरगंज नाकाबाट ७ महिनाको अवधिमा २१ अर्ब ३७ करोडको कपडा, २० अर्ब ६४ करोडको विभिन्न यातायातका साधन, १६ अर्ब ५८ करोडको औषधी, १४ अर्ब ६२ करोडको खाद्यान्न, १० अर्ब १७ करोडको प्लाष्टिकका सामानहरू, ७ अर्ब ७६ करोडको पशु आहारको कच्चापदार्थ, १२ अर्ब २९ करोडको तेलजन्य माल बस्तु आयात भएको वीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
त्यसैगरी वीरगंज नाकाबाट कोइला ५ अर्ब ५८ करोड, कागज र कागजको बोर्ड ४ अर्ब ७६ करोड, लुब्रिकेटिङ्ग आयल ५ अर्ब २ करोड, शृङ्गारका सामान ४ अर्ब ३२ करोड र दलहन ४ अर्ब ९५ करोडको वीरगंज नाका हुँदै आयात गरिएको प्रमुख भन्सार प्रशासक मैनालीले बताउनुभयो ।