वीरगंज । पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगंज महानगरपालिका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेश अनुसार आज मिति २०८२।११।११ गते बिहान ९ः४५ बजे देखि अर्को आदेश नभएसम्म कर्फ्यू लागू गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी आदेशमा महानगरपालिका क्षेत्रभित्र पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चौक र दक्षिणतर्फ शंकराचार्य गेटलाई चार किल्ला तोकी सो सिमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने उल्लेख गरिएको छ।
कर्फ्यू अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरू—एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षाका परीक्षार्थी तथा परीक्षा केन्द्रमा खटिने कर्मचारी, पर्यटक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण गरिने प्रशासनले जनाएको छ।
प्रशासनले सर्वसाधारणलाई आदेशको पूर्ण पालना गर्न तथा सुरक्षा निकायसँग सहकार्य गर्न आग्रह गरेको छ।