काठमाडौं । भारत, झारखण्डबाट दिल्ली जाँदै गरेको चार्टर्ड विमान चतरामा दुर्घटनाग्रस्त हुदाँ सवार सबै सात जनाको मृत्यु भएको छ। रेडबर्ड बीचक्राफ्ट किङ एयर बी९०एल एउटा एयर एम्बुलेन्स थियो।
स्थानीय समय अनुसार सोमबार साँझ ७:११ बजे विमान राँचीबाट उडेको थियो। साँझ ७:३४ बजे विमानसँग सम्पर्क विच्छेद भएको थियो। त्यसको केही समयपछि विमान झारखण्डको चतरा जिल्लाको सिमरियाको जंगलमा दुर्घटनाग्रस्त भयो।
विमानमा क्याप्टेन विवेक विकास भगत (पाइलट), क्याप्टेन सबराजदीप सिंह (सह-पाइलट), सञ्जय कुमार (बिरामी), अर्चना देवी (आफन्त), धुरु कुमार (आफन्त), विकास कुमार गुप्ता (डाक्टर) र सचिन कुमार मिश्र (प्यारामेडिकल स्टाफ) सवार थिए। उनीहरू सबैको घटनास्थलमै मृत्यु भयो।
विमानले राँचीबाट उडान भरेपछि कोलकातासँग सम्पर्क स्थापित गरेको थियो, तर साँझ ७:३४ बजे राडारसँग सम्पर्क टुट्यो। त्यतिबेला विमान वाराणसीबाट लगभग १०० समुद्री माइल दक्षिणपूर्वमा थियो। राँचीको देवकमल अस्पतालका सीईओ अनन्त सिन्हाले पीटीआईलाई बताएअनुसार एयर एम्बुलेन्स एक बिरामीले मिलाएका थिए।
उनले भने, ‘लातेहार जिल्लाको चाँदवा निवासी ४१ वर्षीय सञ्जय कुमारलाई फेब्रुअरी १६ मा ६५ प्रतिशत जलेको अवस्थामा अस्पताल ल्याइएको थियो। उनको अस्पतालमा उपचार भइरहेको थियो।’
सिन्हाका अनुसार परिवारले उनलाई राम्रो उपचारको लागि दिल्ली लैजाने निर्णय गर्यो। बिरामीलाई अस्पतालबाट दिउँसो ४:३० बजेतिर विमानमा दिल्ली लगिएको थियो। बिरामीसँगै आएका सबैको त्यही साँझ विमान दुर्घटनामा मृत्यु भयो।
नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले बताएअनुसार विमानले खराब मौसमका कारण बाटो मोड्न अनुमति मागेको थियो। त्यसको केही समयपछि विमानको कोलकाता एयर ट्राफिक कन्ट्रोल र राडारसँग सम्पर्क टुट्यो अनि विमान दुर्घटनाग्रस्त भयो।