वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुङ्गटाको प्रमुख लगानी रहेको वीरगञ्ज महानगरपालिका वडा नं. ३२ स्थित जगदम्बा इन्टरप्राइजेज उद्योगबाट निस्किने विषालु धुवाँका कारण स्थानीय बासिन्दाको जनजीवन कष्टकर बन्दै गएको छ।
उद्योगको फलाम गलाउने भट्टीबाट निस्किने बाक्लो र विषाक्त धुवाँले सो क्षेत्रका बासिन्दा दैनिक रूपमा विभिन्न श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित हुँदै आएको स्थानीय अगुवाहरूको गुनासो छ। पारसवा क्षेत्रमा अवस्थित उक्त उद्योगका कारण हरेक वर्ष क्षयरोग (टिबी) तथा दमका बिरामीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ। वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखाका अनुसार उद्योग रहेको उक्त गाउँमा महानगरभित्रकै सबैभन्दा बढी टिबी तथा दमका बिरामी भेटिएका छन्।
विज्ञहरूका अनुसार उद्योगमा सञ्चालन भइरहेको कथित अवैध भट्टीका कारण रुख–बिरुवा, पशुपन्छी तथा मानव जीवनसमेत गम्भीर जोखिममा परेको छ। स्थानियहरुका अनुसार उद्योगबाट निस्केको धुवाँका कारण सो क्षेत्रका वासिन्दाहरुमा आँखाको समस्या समेत बढी रहेको र कहिले काही त धुवाँले गाउँ नै दिउँसो अन्धयारो हुने गरेको एवं साँस फेर्न समेत कठिन हुने गरेको छ । रुङ्गटाले चलाएको उद्योगको कारण उद्योग छेवमा रहेको पलदार टोल,परसवा,बदन नगर,टेढा गाउँ लगायतका वस्तीहरुको मानव जीवन नै खतरामा रहेको स्थानिय अगुवाहरुको भनाई छ ।
एकातर्फ भट्टीबाट निस्किने धुवाँले वातावरण प्रदूषित बनाएको छ भने अर्कोतर्फ उद्योगबाट निस्किने विषालु फोहोर पानीले श्रीसिया नदीका जलचर प्राणीहरू लोपोन्मुख अवस्थामा पुगेका छन्। हावा र पानी दुवैलाई उद्योगले प्रदूषित बनाएको स्थानीयहरूको आरोप छ।
स्थानीयवासीका अनुसार रुङ्गटा राजनीतिक पहुँचको आडमा मानव बस्तीमै नियमविपरीत उद्योग सञ्चालन गर्दै आएका छन्। उनी नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकट मानिन्छन्। विशेष महाधिवेशनमार्फत गगन थापा सभापति बन्ने प्रक्रियामा उनले देउवा पक्ष त्यागेर थापातर्फ लागेका थिए।
कांग्रेस नेतृत्त्वमा प्रभाव जमाउन उद्योगपति विनोद चौधरीको दबाबमा विशेष अधिवेशनका लागि ठूलो आर्थिक सहयोग गरेको आरोपसमेत रुङ्गटामाथि लागेको छ। आर्थिक सहयोगकै आधारमा उनलाई पुनः पर्सा–१ बाट उम्मेदवार बनाइएको भन्दै स्थानीय तहमा असन्तुष्टि चुलिएको छ।
“जनताको स्वास्थ्यसँग गम्भीर खेलवाड गर्ने व्यक्तिलाई जनप्रतिनिधि बनाउन खोज्नु दुःखद हो,” एक स्थानीयले सञ्चारकर्मीसँग आक्रोश व्यक्त गरे। हजारौं नागरिकलाई रोगी बनाउने उद्योग सञ्चालकलाई कारबाहीको दायरामा ल्याउनु पर्नेमा उल्टै टिकट दिइनु कांग्रेसको नैतिकतामाथि प्रश्नचिन्ह भएको स्थानीयहरूको भनाइ छ ।
भट्टीबाट अत्यधिक धुवाँ निस्कँदा सास फेर्नै नसकिने अवस्था सिर्जना हुने गरेको भन्दै स्थानीयले पटक–पटक उद्योगको मूल गेटमा धर्ना तथा आन्दोलन गर्दै आएका छन्। तर राजनीतिक पहुँचका कारण अहिलेसम्म प्रभावकारी कारबाही हुन नसकेको उनीहरूको दाबी छ। जगदम्वा इन्टरप्राइजेज प्रालिले फालेको धुवाले स्थानियहरु साँस फेर्न नसकेपछि पटक पटक आन्दोलन समेत गर्दै आएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रुङ्गटा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट उम्मेदवार बनेका छन्। पैसा र शक्तिको आडमा निर्वाचित भएमा बस्ती नै उजाड हुने खतरा रहेको भन्दै स्थानीयवासी त्रसित बनेका छन् ।