बिरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रामाकान्त चौरसियाले जनतासँग प्रत्यक्ष सम्पर्कलाई प्राथमिकता दिँदै आफ्नो घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । घरदैलो क्रममा सयौं युवा पार्टीमा प्रवेश गरेका छान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट प्रतिस्पर्धामा रहेका उनले आफनो क्षेत्र अन्तर्गतका पोखरिया नगरपालिका -२ लामरिया, जगतपुर लगायत अन्य बस्तीमा पुगेर बासिन्दासँग साक्षात्कार गर्दै उनीहरूको आवश्यकता, सुझाव तथा अपेक्षाबारे जानकारी संकलन गरेका हुन् ।
ग्रामीण परिवेशमा आयोजित उक्त भेटघाटमा सहभागी सर्वसाधारणले आफ्नो दैनिकीसँग जोडिएका विविध चुनौती खुलस्त रूपमा राखेका थिए । स्वागतसहित गरिएको अन्तरक्रियामा खानेपानी अभाव, शैक्षिक पूर्वाधारको कमजोरी, स्वास्थ्य सेवा पहुँचको सीमितता तथा कृषि पेशामा देखिएका कठिनाइहरू प्रमुख रूपमा उठाइए। लामो समयदेखि सम्बोधनको प्रतीक्षामा रहेका यी विषयले दैनिक जीवनमा प्रत्यक्ष असर पुर्याएको उनीहरूको भनाइ थियो ।
जनताका गुनासाहरुलाई सम्बोधन गर्दै चौरसियाले विकासको आधार जनचाहनामा निहित रहने धारणा व्यक्त गरे । उनले आधारभूत सुविधा विस्तारलाई प्राथमिकतामा राख्दै दीर्घकालीन योजना निर्माणमार्फत परिवर्तन सम्भव हुने बताए । खानेपानी व्यवस्थापन, शैक्षिक गुणस्तर सुधार, स्वास्थ्य सेवा सुदृढीकरण तथा कृषिक्षेत्र आधुनिकीकरण आफ्नो प्रमुख लक्ष्य रहेको उनको भनाइ थियो ।
उनले युवाशक्ति सशक्तीकरणलाई विशेष जोड दिँदै रोजगारी सिर्जना, सीप विकास तथा स्वरोजगार प्रवद्र्धनमा केन्द्रित नीति अघि सार्ने प्रतिबद्धता जनाए। उत्पादन वृद्धि, उचित मूल्य सुनिश्चितता तथा आधुनिक प्रविधिको प्रयोगमार्फत कृषिलाई सम्मानजनक पेशाका रूपमा स्थापित गर्ने योजना उनले सुनाए । साथै, सामाजिक न्याय, समावेशिता तथा समान अवसर सुनिश्चित गर्ने उद्देश्य पनि प्रस्तुत गरे ।
‘जनताको विश्वास प्राप्त भएपछि संसदमार्फत यहाँका चुनौती समाधानका लागि योजनाबद्ध पहल गर्नेछु,’ उनले बताए । जनतासँगको प्रत्यक्ष संवादले वास्तविक अवस्था बुझ्न सहयोग पुगेको उल्लेख गर्दै उनले जनभावनालाई प्राथमिकता दिँदै काम गर्ने प्रतिबद्धता दोहोर्याए । स्थानीय समुदायले पनि उम्मेदवारसँग प्रत्यक्ष भेटघाटको अवसरलाई सकारात्मक रूपमा लिएका छन् । यसले आफ्नो आवाज नीति निर्माण तहसम्म पुग्ने विश्वास बढाएको उनीहरूको भनाइ छ । आगामी दिनमा यस्ता कार्यक्रमले विकासप्रतिको आशा अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।