पर्सा : गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरूम राउत गद्दीको राजीनामा माग गर्दै स्थानीयले बसन्तपुर सब–डिभिजन वन कार्यालय घेराउ गरेका छन्।
जिराभवानी गाउँपालिका अन्तर्गत सेढवा, बसन्तपुर, काठमाडौंटोल, भवानीपुर, महादेवपट्टी, हरैया र सुपौली लगायतका गाउँका नागरिकहरूले आइतबार दिउँसो करिब २ बजे वन कार्यालय घेराउ गर्दै गादीमाई साझेदारी वन उपभोक्ता समूहको कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयका अनुसार दाउरा, घाँस तथा घर लिपपोत गर्न माटो लिन जंगल जाँदा वा पशु चौपाया चराउन जाँदा समूहका अध्यक्ष गद्दी, कार्यालय सहयोगी सोयालाल साह रौनियार तथा गद्दीका भान्जा समिन गद्दीले अभद्र व्यवहार गर्ने, अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गर्ने गरेको गुनासो गरेका छन्।
जिराभवानी गाउँपालिकाका कार्यपालिका सदस्य सरोज चौरसियाको नेतृत्वमा गरिएको आन्दोलनका क्रममा आन्दोलनकारीहरू कार्यालयमा पुग्दा समूहका पदाधिकारीहरू भने फरार रहेको स्थानीयले बताएका छन्।
स्थिति नियन्त्रणमा लिन इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी हरैया र सशस्त्र प्रहरी बेस क्याम्प सुवर्णपुरका सुरक्षाकर्मी घटनास्थलमा खटिएका थिए।
यसैबीच आन्दोलनका अगुवा सरोज चौरसियाले डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमद र गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष गद्दीको मिलेमतोमा लामो समयदेखि राष्ट्रिय वनबाट अवैध काठ तस्करी भइरहेको आरोप लगाएका छन्।

उनका अनुसार फागुन १४ गते बिहीबार राति करिब ७ बजे तस्करीको काठसहित एक ट्र्याक्टर नियन्त्रणमा लिएर प्रहरी चौकी हरैयामा बुझाइएको थियो। प्र–२–०३–००१ त ३८०० नम्बरको ट्र्याक्टरमा लोपोन्मुख जातका सतिसाल र सिसौको काठसहित जिराभवानी गाउँपालिका–३ सहजानपुरबाट नियन्त्रणमा लिइएको जनाइएको छ।
बसन्तपुर सब–डिभिजन वन कार्यालयका प्रमुख वन अधिकृत मोवारक अलीले जंगलमा छपान गरिएको काठ नै समितिका अध्यक्ष तथा अन्य पदाधिकारीले अवैध कटानी गरी बिक्री गरेको दाबी गरेका छन्। अध्यक्ष गद्दीविरुद्ध कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा पटक–पटक पत्र पठाए पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको उनले बताए।
यस विषयमा डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजनल वन अधिकृत मन्जुर अहमदले भने वनसम्बन्धी घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।