रौतहट। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उल्लेख्य संख्यामा मत बदर भएको तथ्य सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार मतदानमा खसेका मतमध्ये २२ हजार ९९३ मत बदर भएको हो ।
जिल्लाको चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् । जसमध्ये २ लाख ९२ हजार ५२९ मत खसेको थियो । तर ती मतमध्ये ठुलो संख्यामा मत अमान्य ठहरिएपछि निर्वाचन प्रक्रियामा मतदाता शिक्षाको प्रभावकारितामाथि प्रश्न उठ्न थालेको छ ।
जिल्ला निर्वाचन अधिकारी छोटेलाल दासले निर्वाचनअघि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि अपेक्षाअनुसार प्रभावकारी हुन नसक्दा बदर मतको संख्या बढेको स्वीकार गर्नुभयो ।
“मतदाता शिक्षाका कार्यक्रम सञ्चालन गरिएको थियो, तर पनि बदर मतको संख्या बढेको देखिन्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार मतपत्रमा सही तरिकाले छाप नलगाउने, एकभन्दा बढी स्थानमा छाप लगाउने तथा मतपत्रको निर्दिष्ट स्थानभन्दा बाहिर छाप पर्ने जस्ता कारणले बदर मत बढेको हुन सक्ने अनुमान गरिएको छ ।
निर्वाचन विश्लेषकहरूका अनुसार बदर मतको संख्या बढ्नु चिन्ताको विषय मानिन्छ। मतदाताले दिएको मत अमान्य हुनु भनेको उनीहरूको अभिव्यक्ति मतगणनामा समेटिन नसक्नु हो ।
रौतहटका चारवटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई परिणाम सार्वजनिक भइसकेको छ । तर ठुलो संख्यामा बदर मत देखिएपछि आगामी निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।