वीरगञ्ज । देशकै प्रमुख नाका मानिने वीरगञ्ज भंसार कार्यालयमा ठूलो परिमाणमा राजस्व चुहावट भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ। भंसार प्रशासन, कर्मचारी तथा जाँच प्रक्रियामा संलग्न व्यक्तिहरूबीच मिलेमतो भई दैनिक करोडौं रुपैयाँ बराबरको राजस्व हिनामिना भइरहेको प्रमाण पुनः बाहिर आएको छ।
घटना फागुन २५ गतेको हो। “सुनौलो साझा ढुवानी” नामक ट्रान्सपोर्टमार्फत ना. ७ ख. २४१६ नम्बरको ट्रकले मोटर पाट्र्स, हार्डवेयर सामग्री, कपडा, चश्मा तथा चकलेट बोकी वीरगञ्ज भंसारबाट सबै औपचारिक प्रक्रिया पूरा गरी पास भएको थियो। तर स्रोतका अनुसार उक्त ट्रक ‘सेटिङ’ मार्फत भंसारबाट सहज रूपमा बाहिरिएको थियो।
वीरगञ्जबाट काठमाडौंतर्फ प्रस्थान गरेको उक्त ट्रक बाटोमा कुनै चेकजाँच बिना अघि बढिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय ललितपुरले शंकाको आधारमा नियन्त्रणमा लिएको थियो। त्यसपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको थियो।
विभागले गरेको अनुसन्धानबाट ट्रकमा रहेका सामानको मूल्यांकनमा ७५ प्रतिशतसम्म ‘अन्डर बिलिङ’ गरिएको खुलासा गरेको छ। सोही आधारमा १९ लाख ३५ हजार रुपैयाँ जरिवाना समेत तोकिएको बताइएको छ।
यस घटनाले गम्भीर प्रश्नहरू खडा गरेको छ—यदि एउटै ट्रकमा यति ठूलो परिमाणमा कम मूल्यांकन हुन सक्छ भने दैनिक सयौं ट्रकमार्फत भित्रिने सामानमा कति ठूलो मात्रामा राजस्व चुहावट भइरहेको होला । भंसार प्रशासनका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनाली, कर्मचारी तथा जाँचकर्ताहरूले किन यस्तो निर्णय गरेरु के यसको पछाडि आर्थिक लेनदेन भएको हो ।
विश्लेषकहरूका अनुसार यस्ता गतिविधिले राज्यको ढुकुटीमा जानुपर्ने करोडौ राजस्व सिधै व्यक्तिगत स्वार्थमा गइरहेको संकेत गर्छ। अझ चिन्ताजनक पक्ष के छ भने यति गम्भीर विषय सार्वजनिक हुँदासमेत सरकार र सम्बन्धित निकायहरू मौन देखिएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायले किन चासो नदेखाएको भन्ने प्रश्न पनि उठ्न थालेको छ। भंसारभित्रै ‘अर्को संसार’ सञ्चालन भइरहेको र त्यसभित्र सबै निकायहरू निष्क्रिय बनेको आशंका गरिएको छ।
यस विषयमा वीरगञ्ज भंसार कार्यालयका प्रवक्ता उदय सिंह विष्टसँग प्रतिक्रिया लिन खोज्दा उनले आफू व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।
यो घटनाले भंसार प्रशासनमा व्यापक सुधार, पारदर्शिता र कडा निगरानीको आवश्यकता पुनः एकपटक उजागर गरेको छ। दोषीमाथि छानबिन र कारबाही नभएसम्म यस्ता गतिविधि रोकिने सम्भावना न्यून देखिन्छ। साभार : ए न्यूज