सिरहा । लहान नगरपालिका-१५ स्थित हात्तीदह परिसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘हात्तीदह वनस्टे’ सञ्चालनमा आएको छ । ‘होमस्टे’ जस्तै अवधारणामा आधारित वनस्टेले पर्यटकलाई प्राकृतिक वातावरणसँगै स्थानीय कला, संस्कृतिको अनुभव गर्ने अवसर प्रदान गर्ने लक्ष्य लिएको हो ।
यसअघि कोइरालो खोला नमुना वन उपभोक्ता समूहले सामुदायिक वनभित्र रहेको हात्तीदह सिमसार क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आएको छ । सोही क्षेत्रभित्र पर्नेगरी ‘वनस्टे’ स्थापना गरी सञ्चालनमा ल्याइएको हो । वनस्टे निर्माणका लागि जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा केयर नेपाल, सामुदायिक वन उपभोक्ता महास्घ नेपाल (फेकोफन) र राष्ट्रिय कृषक समूह महास्घको साझेदारीमा सञ्चालित संरक्षण परियोजनाले सहकार्य गरेको हो ।
“वन र सिमसार क्षेत्रको संरक्षण गर्दै पर्यटनमार्फत स्थानीयलाई आयआर्जनमा जोड्ने उद्देश्यले वनस्टे सञ्चालनमा ल्याएका हौँ”, उपभोक्ता समूहका अध्यक्ष रुद्रनारायण चौधरीले भने । उनका अनुसार पहिलो चरणमा दुई कोठाको पाहुना घरबाट सेवा सुरु गरिएको वनस्टे परिसरमा तालिम हल, वनभोजस्थल, दहमा बोटिङ सुविधा, बालबालिकाका लागि मनोरञ्जन पार्क, चिडियाखानालगायत सेल्फीस्थलसहित आकर्षकस्थल तयार गरिएको छ ।
वनस्टे निर्माणपछि यस क्षेत्रको शान्त र रमणीय प्राकृतिक वातावरणमा बस्न चाहने पर्यटकले यहाँ बसोबास गर्दै विशेष आनन्दको अनुभूति गर्ने अध्यक्ष चौधरीले विश्वास व्यक्त गरे । हरियाली वन, सिमसार क्षेत्र र स्वच्छ वातावरणले पर्यटकलाई थप आकर्षित गर्ने अपेक्षा गरिएको उनले बताए । वनस्टे निर्माणमा परियोजनाबाट रु आठ लाख छ हजार ८८ र उपभोक्ता समूहबाट रु तीन लाख ६७ हजार २९५ खर्च भएको जनाइएको छ ।
वनस्टे उद्घाटन गर्दै नगरप्रमुख महेशप्रसाद चौधरीले नगरपालिकाबाट थप रु २० लाख बजेट विनियोजन गरी थप दुई वटा दुई कोठे भवन निर्माण गरिने जानकारी दिए । रासस