वीरगञ्ज । रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको चरम अभाव भएसँगै गम्भीर घाइते देखी सुत्केरी महिलाको समेत उपचार सेवा प्रभावित भएको छ ।
प्रतिनिधिसभा निर्वाचनताकादेखि नै रक्तसञ्चार केन्द्र बीरगन्जमा रगतको अभाव भएको र अहिले कुनै पनि समूहको रगत केन्द्रमा सञ्चित नरहेको रक्तसञ्चार केन्द्र, वीरगन्जका प्रमुख सौरभराज पाण्डेले बताउनुभयो ।
उहाँले रगतको अभावसँगै अहिले वीरगन्जका अस्पतालमा बिरामीहरूको चाप पनि बढेको बताउनुभयो । दैनिक डेढ सयभन्दा बढी बिरामीका आफन्त विभिन्न अस्पतालबाट रगतको लागि आउने गरेको र अहिले सोधभर्नाबाट मात्र रगतको अभाव टार्दै आएको पाण्डेले बताउनुभयो ।
केन्द्रमा रगत सञ्चय भएको बेला बिरामीहरूको अवस्था हेरेर सोधभर्नाविना नै रगतको आपूर्ति गर्ने गरिएको तर अहिले अभाव भएपछि सोधभर्नाविना रगत आपूर्ति गर्न नसकिएको बाहाँले बताउनुभयो ।
निर्वाचन अघिसम्म विभिन्न राजनीतिक दलहरू र तिनका भ्रातृ सङ्गठनहरूले पनि रक्तदान कार्यक्रम आयोजना गर्दै आएकामा निर्वाचनका कारण रक्तदान कार्यक्रम प्रभावित भएको र निर्वाचनसँगै यस वर्ष होली पर्व अनि मुस्लिम समुदायको रमजान पनि परेकोले रक्तदान कार्यक्रम प्रभावित भएको पाण्डेले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रम नहुँदा अहिले रगतको अभाव भएको बताउँदै नयाँ सरकार गठन नहुन्जेलसम्म प्रभावकारी किसिमबाट रक्तदान कार्यक्रम हुने सम्भावना समेत नदेखिएको हुँदा रगत अभावको समस्या समाधानका लागि रक्तदान कार्यक्रम आयोजना गर्दै आएका विभिन्न सङ्घसंस्थाहरूलाई यो सङ्कटका बेला रगतको अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना गरेर सघाउन अपील समेत गर्नुभयो ।
वीरगंजका अस्पतालहरूमा पर्सा,बारा, रौतहट, सर्लाही लगायतका जिल्लाबाट बिरामीहरू उपचारको लागी आउने गर्दछन् ।