सिरहा लामो समयदेखि व्यक्तिगत घर र होटल तथा लजको आवरणमा यौन धन्दा चलाइरहेको आरोपमा सिरहाको लहान र धनगढी बजार क्षेत्रबाट आठ जना पक्राउ परेका छन् । लहान ३ बाट चार, ८ बाट दुई र धनगढीमाई ११ बाट दुईसहित आठ जनालाई फरक फरक ठाउँबाट पक्राउ गरी सिरहा जिल्ला अदालतबाट मानव बेचविखन विरुद्ध मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार लहान ३ अस्पताल चोक नजिक रहेको अनलाईन होटल एण्ड लजमा यौनधन्दा चलाएको आरोपमा संचालिका लहान १ बस्ने करिब ४० वर्षीया अर्चनाकुमारी चौधरीसहित चार जनालाई ५ चैतमा पक्राउ गरिएको हो ।
आर्थिक प्रलोभनमा इच्छा विपरीत यौनधन्दामा लगाएको भन्दै सांकेतिक नाम ०८२ लहान (फ), ०८२ लहान (ब), ०८२ लहान (भ) र ०८२ लहान (म) समेत चार जनाले प्रहरीमा उजुरी दिएपछि संचालिका चौधरीसँगै ग्राहकको रुपमा आएका सप्तरीको सुरुङगा नगरपालिका ९ टिकुलियाका करिब २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी, १९ वर्षीय आकाश चौधरीलाई लजबाट नै पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका चार जना विरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सिरहा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, लहान ८ हुलाक टोलमा घर रहेका लहान ११ पिडरबोनीका दिलिप साह र उनकी श्रीमती सुनिता साह आफ्नै घरमा इच्छा विपरीत युवती तथा महिलाहरुलाई ल्याएर यौनधन्दा चलाएको आरोपमा पक्राउ परेका छन् । प्रहरीका अनुसार पीडितहरु ०८२ लहान (य), ०८२ लहान (र) र ०८२ लहान (ल) सहित तीन जनाले प्रहरीमा उजुरी दिएपछि साह दम्पतीलाई ६ चैतमा पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सिरहा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुन्धान भइरहेको छ ।
धनगढीमाई नगरपालिका ११ स्थित खुश्बु होटल एण्ड लजमा लज संचालक धनगढीमाई १० घर भएका करिब ३४ वर्षीय गुजेश्वर साह र सप्तरीको बलानबिहुल गाउँपालिका ६ रौतहट घर भएका करिब ३८ वर्षीय शिवकुमार यादवलाई पनि पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तर्गत अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । लज संचालक विरुद्ध ०८२ लहान (प), ०८२ लहान (न) समेतको जाहेरीमा ग्राहकको रुपमा आएका यादवसहितलाई पक्राउ गरी मुद्दा चलाइएको जनाइएको छ ।
प्रहरीको संरक्षणमा नै व्यक्तिगत घरसहित होटल तथा लजहरुमा यौनधन्दा चलाइरहेकाहरु विरुद्ध स्थानीयले कैयौं पल्ट मौखिक उजुरी गरेपनि सुनुवाई नभएपछि प्रदेश प्रहरी कार्यालयमा गुनासो गरे लगत्तै स्थानीय प्रहरी सकृय भएको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयले केही घुमुवा प्रहरीलाई प्रदेश प्रहरीमा तानिसकेको बताइएको छ । मणिलाल विश्वकर्मा / नयाँ पत्रिका