जनकपुरधाम । सुख्खा मौसम शुरु भएसँगै मधेश प्रदेशका जिल्लाहरूमा खानेपानीको सम्भावित समस्या र त्यसको समाधानका विषयमा जलश्रोतका विज्ञहरुको सहभागितामा प्रदेश स्तरीय छलफल जनकपुरधाममा आज सम्पन्न भएको छ ।
मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयको आयोजना तथा वाटर एड, युनिसेफ सहितका विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहकार्यमा सम्पन्न भएको १४ औँ राष्ट्रिय भूमिगत जल सम्मेलनमा सहभागी विज्ञहरुको भूमिगत पानीको भण्डार बढाउने अल्पकालिन, मध्यकालीन तथा दीर्घकालीन उपायकोको तीनै तहका सरकारले मिलेर काम गर्नु पर्नेमा जोड दिनु भएको हो ।
विज्ञहरुले मधेश प्रदेशका जिल्लाहरू सहितका क्षेत्रमा ८ अर्ब घन मिटर भूमिगत पानी भएको बताउँदै भूमिगत पानीको मात्रा बढाउनका लागि वर्षा तथा नदिको पानीलाई रोक्नका लागि चुरे देखि नै पानी पोखरी तथा नदिहरुमा साना साना बाँधको निर्माण गरिनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा बोल्दै मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानीमन्त्री जवाहर कुशवाहाले मधेश प्रदेशका जिल्लाहरूमा विगत केही वर्ष यता सुख्खाको समयमा खानेपानीमा देखिएको समस्या समाधानका लागि पुराना खानेपानीका योजनाहरू समयमा सम्पन्न हुनु पर्ने धारणा राख्नु भयो ।
उहाँले मधेश प्रदेशका जिल्लाहरूमा साना तथा ठूला गरेर करिब ४ सय ४८ खानेपानीका योजनाहरू अधुरा रहेको र त्यस योजनाहरूमा थोरै रकम लगानी गरेर सञ्चालन गर्न मिल्ने भएकाले स्वामित्व सम्बन्धि विवादको समाधानका लागि काम हुनु पर्नेमा जोड दिनु भयो ।
नेपाल सरकारका पूर्वमन्त्री एवं वातावरण विद् गणेश साहले मधेश प्रदेशमा अगामी दिनमा खानेपानीको थप संकट हुने भएकाले यहाँका पोखरी तथा जलाशयहरूलाई सौन्दर्यीकरणको नाउँमा पक्किकरण गर्ने काम रोकी बरु पुर्न जीवन दिएर माटो र पानीको सम्बन्ध रहन दिनका लागि आग्रह गर्नु भयो ।
मधेश प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष राज कुमार सिंहले मधेशमा खानेपानीको १ सय देखि २ सय फिटमा जडान भएका चापाकलहरु सुकेपनि ४ सय ५० देखि ६ सय फिटमा अहिले पर्याप्त मात्रामा खानेपानी आउने गरेको भएपनि खानेपानीको श्रोत बढाउन जरुरी रहेको बताउनु भयो ।
मधेश प्रदेशका ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका सचिव राम कुमार खङ्गको अध्यक्षतामा भएको सो कार्यक्रममा मधेशका नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष डा. सोहन साह, सिरहाको गोलबजार नगरपालिकाका उपप्रमुख मञ्जु साह, कर्जनहा नगरपालिकाका उपप्रमुख लक्ष्मी कुमारी श्रेष्ठ, ऊर्जा आयोगका सह–सचिव टिकाराम सुवेदी, वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, संघीय खानेपानी तथा ढल निकास कार्यालय जनकपुरधामका प्रमुख मिहिरचन्द्र आचार्य, युनिसेफका अनिता मास्के, ऊर्जा, सिँचाई तथा खानेपानी मन्त्रालयका महाशाखा प्रमुख लक्ष्मी पन्त र वातावरण, ऊर्जा तथा अनुसन्धान केन्द्रका अध्यक्ष डा. ढुढीराज पाठक सहितका वक्ताहरूले भूमिगत पानीको सतह बढाउने विषयमा तीन तहका सरकारका बीचमा सहकार्य हुन जरुरी रहेको बताउनु भयो । रेडियो नेपाल