दाङ । दाङको राप्ती गाउँपालिका- २ स्थित दोलाई खोलाको घटना प्रेम सम्बन्धका कारण भएको हुन सक्ने प्रहरीले बताएको छ। प्रारम्भिक अनुसन्धानअनुसार प्रेम सम्बन्धका कारण युवकको हत्या भएको खुलेको हो। खुकरी प्रहारबाट राप्ती गाउँपालिका वडा नं.२ बाह्रखुट्टीनिवासी १७ वर्षीय स्मित प्रधानको मृत्यु भएको हो। जो उनका साथी १६ वर्षीय अयुशमान थापासँगै थिए। थापालाई उनको एकजना केटी साथीले फेसबुकमार्फत बोलाइन्। बोलाएपछि थापा र प्रधानसँगै गएका थिए। त्यही क्रममा प्रधानको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
थापाको ती केटीसँग प्रेम सम्बन्ध रहेको प्रहरीले बताएको छ। केटीले बोलाएपछि उनीहरू त्यहाँ पुग्दा अन्य दुईजना केटाहरू पनि थिए। बंगलाचुली गाउँपालिका- ८ घरभई राप्ती गाउँपालिका- ४, श्रीनारायण चोक बस्ने २० वर्षीय सन्दीप वली र राप्ती गाउँपालिका- ४, मौरीघाट बस्ने १८ वर्षीय निश्चल चौधरी थिए। तीमध्ये वलीको पनि ती केटीसँग प्रेम सम्बन्ध रहेको खुलेको छ। 'केटीले डबल रोल खेलेको देखिन्छ,' प्रहरी स्रोतले भन्यो, 'यस विषयमा अनुसन्धान भइरहेको छ।'
साथीसँग गएका प्रधानको हत्या
प्रधान साथीसँग गएका थिए। उनी घरका एक्लो छोरा पनि हुन्। केही दिनअघि मात्रै उनी पोखराबाट घर आएका थिए। प्रधान ब्रिटिस आर्मीको तालिमका लागि पोखरा बस्दै आएका थिए। उनको शवलाई शुक्रबार राति १२ बजे दोलाई खोलामा फेला पारिएको थियो। यद्यपि, घटना शुक्रबार राति ८ बजेतिर भएको हुन सक्ने प्रहरीको भनाइ छ।
त्यस्तै, थापा पनि हाल एसइई दिइरहेका विद्यार्थी हुन्। थापा घाइते छन्। उनी घाइते अवस्थामै राप्ती गाउँपालिका- ४ स्थित दिदीको घर गएका थिए। त्यसपछि उनकी दिदी रमिता खाम्चा मगरले घटनाका बारेमा प्रहरीलाई खबर गरेपछि खोजतलास सुरु भएको थियो। थापाको हाल भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको ढाड, बायाँ आँखा, गाला र कानमा चोट लागेको छ।
तीनजना पक्राउ
प्रहरीले घटनामा संलग्न तीनजनालाई पक्राउ गरेको छ। हत्यामा संलग्न भएको आरोपमा दाङको बंगलाचुली गाउँपालिका- ८ घर भई हाल राप्ती गाउँपालिका- ४, श्रीनारायण चोक बस्दै आएका २० वर्षीय सन्दीप वली, राप्ती गाउँपालिकाका- ४, मौरीघाटनिवासी १८ वर्षीय निश्चल चौधरी र एक बालिकालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताए।
साथै, घटना भएको स्थान दोलाई खोलाबाट चक्कु, ढुंगा, बाँसको टुक्रा, प्लास्टिकको डोरी, चस्मा, टाबेलको टुक्रा, मोबाइललगायतका सामग्रीसमेत बरामद गरेको छ। साभार : नयाँ पत्रिका