वीरगंज । बदलिँदो जीवनशैलीका कारण आदिवासी जनजाति थारू समुदायले परम्परागत रूपमा मनाउँदै आएको घाटो पर्व पछिल्लो समय क्रमशः लोपोन्मुख बन्दै गएको छ । चैत महिनामा माता गौरीको पूजा आराधना गरी मनाइने यो सांस्कृतिक पर्व संरक्षणको अभाव र बदलिँदो जीवनशैलीका कारण थारू समुदायबाट हराउँदै गएको हो ।
घाटो पर्वमा थारू समुदायका युवतीहरूले असल वर अर्थात् श्रीमान् पाउने कामनासहित माता गौरी (पार्वती ) को पूजा गर्ने परम्परा रहेको छ । यस क्रममा युवतीहरूले माटोबाट माता गौरीको मूर्ति निर्माण गरी गाउँका कुनै एक घरको आँगनमा स्थापना गर्ने र बिहान–बेलुका पूजा–आराधना गर्ने गर्थे। साथै सामूहिक रूपमा घाटो गीत, चैतार गीत गाउँदै झमटा नृत्य प्रदर्शन गर्ने चलन रहेको थारु अगुवा बृजमोहन चौधरीले बताउनुभयो ।
पर्वको विशेष आकर्षणका रूपमा युवतीहरूको समूहले आँपका बगैँचाबाट पात टिपेर ल्याउने, त्यही पातमा खीर पकाई माता गौरीलाई भोग लगाउने र प्रसाद वितरण गर्ने परम्परा रहेको छ । त्यसपछि गाउँका अग्रजहरूलाई प्रसाद दिँदै चन्दा सङ्कलन गरिन्थ्यो, जसबाट नाचगान तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने परम्परा रहेको चौधरीले जानकारी दिनुभयो ।
माता गौरीको मूर्ति विसर्जन गर्ने दिन विशेष रूपमा मनाइन्थ्यो । सो अवसरमा गाउँभरिका परिवारले आफ्ना छोरी, बहिनी तथा आफन्तलाई निमन्त्रणा गरी भेटघाट गर्ने चलन थियो । खेतीपातीका कारण व्यस्त रहने परिवारका लागि यो पर्व पुनर्मिलनको अवसरका रूपमा लिइन्थ्यो । यस अवसरमा ठेकुवा, तेलही रोटी, दूधपुवा जस्ता परिकार तयार गरी कोसेली पठाउने परम्परा पनि प्रचलित रहेको छ ।
तर पछिल्लो समय घाटो पर्वको स्वरूप फेरिँदै गएको छ । अहिले नाचगान र सांस्कृतिक कार्यक्रम सीमित रूपमा आयोजना हुने र अन्य परम्परागत गतिविधि हराउँदै गएको थारु अभियान्ता प्रकाश चौधरीले बताउनुभयो । अहिले यो पर्व एकै दिन पूजा गरी मूर्ति खोलामा विसर्जन गरेर समापन गर्ने चलन बढ्दै गएको छ ।
पर्सा पटेर्वासुगौली गाउँपालिकाकी उपाध्यक्ष तथा थारू कल्याणकारी समितिकी केन्द्रीय पार्षद् ममता महताले व्यस्त जीवनशैली, शिक्षा र रोजगारीका लागि युवापुस्ताको शहरतर्फ आकर्षणले पर्वप्रति चासो घट्दै गएको बताउनुभयो ।
उहाँले एउटा कुनै थारु बस्तीमा पर्व मनाउँदा ठूलो आर्थिक खर्च लाग्ने भएकाले परम्परागत रूपमा मनाउन कठिन भएको बताउँदै संरक्षणका लागि सामूहिक रूपमा एकै स्थानमा पर्व मनाउन थालिएको बताउनुभयो ।
हाल थारू समुदायले घाटो पर्वलाई माघीपर्वमा आफ्नो पहिचानका लागी प्रदर्शनात्मक रूपमा मात्रै प्रस्तुत गर्ने गरेकाले यसको मौलिकता क्रमशः हराउँदै गएको थारु अगुवा हरुको गुनासो छ । साभार : रेडियो नेपाल