सायद, शब्दले सबै कुरा भन्न सक्दैनन्। केही भावनाहरू यति गहिरा हुन्छन् कि मनमै सीमित रहन्छन्। बुवा पनि त्यस्तै भावना हुन्—जसलाई वर्णन गर्न खोज्दा शब्दहरू कमजोर देखिन्छन्। हामीमध्ये धेरैजसो सन्तानहरू आफ्ना बुवाको बुढेसकालको सहारा बन्न दिनरात संघर्ष गरिरहेका हुन्छौँ। किनकि हामी जान्दछौँ—आमा बुवा नै यस संसारका देख्न सकिने भगवान् हुन्।
त्यसैले आजका दिन, पृथ्वीका सम्पूर्ण पिताहरूलाई सम्झिँदै, हृदयदेखि कोटि–कोटि नमन। मेरो बुवा एक साधारण किसान परिवारमा जन्मिनु भएको थियो। तर सोच भने सधैं ठूलो—“केही गर्नुपर्छ, अगाडि बढ्नुपर्छ” भन्ने। आफूले पढ्न नपाए पनि आफ्ना सन्तानलाई पढाउनुपर्छ भन्ने अठोट बोकेर, उहाँले हामी चारै दाजुभाइलाई कक्षा १० र १२ सम्म पु¥याउनु भयो।
हाम्रो घरको आम्दानी ठूलो थिएन। खेतीपाती, कहिलेकाहीँ अरूको काम गरेर आएको सानो रकम—त्यही नै हाम्रो आधार थियो। बुवा बिहानैदेखि बेलुकासम्म अरूको पसलमा काम गर्नुहुन्थ्यो, अनि आमा खेतबारीमा पसिना बगाउनुहुन्थ्यो।
बुवाले काम गर्दै–गर्दै सीप सिक्नुभयो। त्यसपछि २०५० सालमा बास र परालको सानो घर बनाउँदै वीरगञ्जमा आफ्नै पसल सुरु गर्नुभयो। त्यो सानो सुरुवात नै हाम्रो परिवारको ठूलो आधार बन्यो। हामी चार दाजुभाइले सधैं बुवाको माया चाहन्थ्यौँ, तर उहाँ सधैं जिम्मेवारीको भारी बोकेर काममै व्यस्त हुनुहुन्थ्यो। त्यो बेला नबुझेको कुरा आज प्रस्ट भएको छ—त्यो दूरी माया कम भएर होइन, हाम्रो भविष्य उज्यालो बनाउनको लागि थियो।

समय बित्दै गयो...
२०८२ फागुन १२ गते, छाती दुख्ने समस्या देखिएपछि बुवा र आमा काठमाडौं जानु भयो। त्यहाँ शहीद गंगलाल अस्पतालमा जाँच गराउँदा, बुवाको मुटुको अपरेसन गर्नुपर्ने कुरा थाहाँ भयो। यो खबरले बुवा–आमा दुवै चिन्तामा पर्नुभयो। खबर पाएपछि मेरा ठूला दाइ, भाउजू र आफन्तहरू अस्पताल पुग्नुभयो। सबैले मिलेर बुवा–आमालाई हौसला दिनुभयो, सम्झाउनुभयो।
डाक्टरको सल्लाह अनुसार बैशाख ३० गते अपरेसनको मिति तोकियो र त्यसपछि बुवा–आमा घर फर्किनुभयो। घरमा सबैलाई जानकारी गराइयो। परिवारले एकमत भएर निर्णय ग¥यो—“जति छिटो उपचार भयो, त्यति राम्रो।” त्यसपछि दाइको एक साथीको सहयोगले अपरेसनको प्रक्रिया अझ छिटो हुने सम्भावना बन्यो। एक्कासी अस्पतालबाट फोन आयो—अपरेसनका लागि ०८२ चैत ३० गते नै आउन भनियो। डा. रमेश कोइराला ज्यूको सल्लाह अनुसार केही दिनमै बुवा अस्पतालमा ०८३ बैशाख १२ गते भर्ना हुनुभयो।
अहिले उहाँ अस्पतालको प्रिअपरेटिभ बेड नं. ४३८ मा हुनुहुन्छ। आज हाम्रो बुवा उमेरले थाक्नुभएको छ, शरीरले साथ दिन छोडेको छ। बिरामी अवस्थाले आमाको मन टुटेको छ—आँखामा चिन्ता र पीडा स्पष्ट देखिन्छ। तर हामी छौँ—आमालाई सान्त्वना दिँदै, बुवाको उपचारमा निरन्तर लागिरहेका छौँ। डाक्टरको सल्लाह अनुसार उपचार सुरु भएको छ। आशा अझै बाँकी छ, विश्वास अझै बलियो छ—किनकि बुवाको संघर्ष, उहाँको त्याग, उहाँको माया—सबै कुरा हामीभित्र अझै जीवित छ।