जनकपुरधाम । मधेश प्रदेश प्रहरी कार्यालयले लागु औषध नियन्त्रणका लागि लागु औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान सञ्चालनमा ल्याएको छ।
मधेश प्रहरी कार्यालयले सो अभियान अन्तर्गत शुक्रबार प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका प्रहरी चौकीहरूलाई ब्रिफिङ गर्दै प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले अभियानको औपचारिक सुरुवात भएको जानकारी दिनुभएको हो ।
अभियान अन्तर्गत सिमानाकामा लागु औषध परीक्षण केन्द्र स्थापना गरिने छ भने ‘ड्रग टेस्ट किट’ को प्रयोगमार्फत व्यक्तिले लागु औषध सेवन गरेको छ वा छैन भन्ने पहिचान गरिने छ ।
सिमानाका क्षेत्रमा नियमित आवतजावत गर्ने युवायुवतीको तथ्याङ्क सङ्कलन गरी निगरानीसमेत गरिने योजना रहेको छ ।
त्यस्तै, लागु औषध सेवनकर्तालाई सीमा नाकामै एक घण्टे सचेतनामूलक कार्यक्रममार्फत प्रशिक्षण दिइने छ । साथै, उनीहरूको अभिलेख विवरण तयार गरी नियमित रूपमा ट्र्याकिङ गर्ने व्यवस्था समेत मिलाइने प्रदेश प्रहरी कार्यालयले जनाइएको छ ।
प्रदेश प्रहरीका अनुसार अभियानलाई प्रभावकारी बनाउन प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय तथा विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थासँग सहकार्य गरिने छ ।
लागु औषध सेवनकर्ताको उपचार, सुधार र सामाजिक पुनर्स्थापनाका लागि खेलकुद, मनोरञ्जन, सीपमूलक तालिम तथा रोजगारीमूलक कार्यक्रमहरू समेत सञ्चालन गरिने छन् ।
यसैगरी, लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न औषधी पसल, अन्य स्थान र मुख्य कारोबारीलाई निगरानीमा राखी कडा कानुनी कारबाहीका लागि चेतावनी समेत दिइएको छ ।
प्रदेश प्रहरी कार्यालयले सो महाअभियानमा प्रदेश सरकारको समन्वय, स्थानीय तहको सक्रिय सहभागिता तथा सरोकारवाला निकायहरूको सहकार्यमा अघि बढाइएको जनाएको छ।