पर्सा । डिभिजन वन कार्यालय पर्सा र गादीमाई साझेदारी वन उपभोक्ता समूहबीच कथित मिलेमतोमा सुगीभार खोलाबाट भइरहेको अवैध उत्खनन कार्य अन्ततः बन्द गरिएको छ। एक्साभेटर प्रयोग गरी नदिजन्य पदार्थ दोहन भइरहेको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि सम्बन्धित निकाय दबाबमा परेको देखिएको हो।
डिभिजन वन कार्यालय पर्सा अन्तर्गत पर्ने उक्त खोलाबाट विगत चार दिनदेखि निरन्तर रूपमा दर्जनौँ ट्र्याक्टरमार्फत ढुंगा, गिट्टी र बालुवा ओसार्ने कार्य भइरहेको थियो। खोलादेखि वनशक्ति माई क्षेत्रसम्म सवारीसाधनका स्पष्ट चक्काका लिकहरू देखिनुले अवैध गतिविधि भइरहेको पुष्टि हुने आधार दिएको थियो।
तर, समाचार सार्वजनिक भएसँगै सोमबार सम्भावित अनुगमनलाई लक्षित गर्दै ती प्रमाणहरू मेटाउने प्रयास भएको आरोप लागेको छ। स्रोतका अनुसार गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दीको निर्देशनमा सात जना ज्यामी परिचालन गरी चक्काको लिक पुरिने, धसेको स्थानमा माटो हालिने र माथिबाट सुक्खा पात ओच्छ्याइने कार्य दिनभरि गरिएको थियो।
यसैबीच, डिभिजनल वन अधिकृत मन्जुर अहमद नेतृत्वको अनुगमन टोली आउने सूचना प्राप्त भएको छ। अनुगमनकै क्रममा विषयलाई दबाउने उद्देश्यले केही सञ्चारकर्मीहरूलाई आर्थिक प्रलोभनमा पार्ने तयारी भइरहेको आरोप पनि सार्वजनिक भएको छ। यद्यपि, उक्त आरोपबारे आधिकारिक पुष्टि भने भइसकेको छैन।
घटनाले वन संरक्षण, सुशासन र कानुनी कार्यान्वयनमाथि गम्भीर प्रश्न उठाएको छ। स्थानीयवासीहरूले पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।