वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका वडा नम्बर –९ एकटाङ्गा स्थित तिलाबे नदीमा सडक डिभिजन कार्यालय हेटौँडा र निर्माण कम्पनी बीच समन्वय गरी पुनः पक्किपुल निर्माण सुरु गरिएको छ ।
तिलाबे नदीमा निर्माणाधीन तिलाबे पुल लामो समयदेखि डिजाइन स्वीकृतिमा ढिलाइ हुँदा पुल निमार्णकार्य अवरुद्ध भएको थियो । निर्माण कम्पनी अनुसार संशोधित डिजाइन स्वीकृतिमा मात्रै ४ वर्ष को ढिलाइ हुँदा निर्माण कार्य गम्भीर रूपमा प्रभावित भएको हो ।
त्यसैगरी, निर्माण कम्पनीलाई दिनुपर्ने भुक्तानीमा समेत ३ वर्ष सम्म ढिलाइ भएको कारण परियोजनाको प्रगति सुस्त बन्न पुगेको बताइएको छ । निर्माण व्यवसायीले समयमै रकम प्राप्त गर्न नसक्दा श्रमिक परिचालन, सामग्री आपूर्ति र उपकरण व्यवस्थापनमा समस्या आएको जनाएको छ ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ र ठेक्का सम्झौताको दफा ४८ र ४९ बमोजिम विल पेश भएको मितिले ३० दिन भित्र रकम भुक्तानी गर्नु पर्ने प्रावधान रहेको छ ।
परियोजना स्थलमा स्थानीय अवरोधसमेत देखिएको थियो, जसबारे निर्माण पक्षले लिखित रूपमा जानकारी गराइसकेको छ । यस्तै, पुल नजिकै हालै निर्माण गरिएको हेडवर्क संरचनाले पनि निर्माण कार्यमा थप अवरोध सिर्जना गरेको जनाइएको छ ।
विभिन्न समस्याहरूका बाबजुद पनि पुलको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ । बाँकी कार्यलाई तीव्रता दिँदै आगामी असार २०८३ भित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
स्थानीयवासीले पुल छिटो सम्पन्न गर्न माग गर्दै आएका छन् ।
पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले पुल निर्माण भएपछि ग्रामीण क्षेत्रको आवागमन सहज हुने, कृषि उत्पादन बजारसम्म पु¥याउन सजिलो हुने र आपतकालीन सेवामा पनि जोखिमपूर्ण टाढाका बाटो जानु नपर्ने बताउनुभयो ।