रौतहट । राष्ट्रिय भूमि अधिकार मञ्च जिल्ला कार्यसमिति रौतहटले आइतबार चन्द्रनिगाहपुरमा प्रदर्शन गरेको छ। भूमि र आवासको अधिकार सुनिश्चित गर्न माग गर्दै भूमिहीन तथा सुकुमवासी परिवारले प्रदर्शन गरेका हुन् ।
डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरबाट सुरु भएको र्याली बजारका विभिन्न भाग परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनका क्रममा सहभागीले “भूमि हाम्रो अधिकार हो”, “डोजर आतङ्क बन्द गर”, “सुकुमवासीलाई आवास सुनिश्चित गर” लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय भूमि अधिकार मञ्च रौतहटका जिल्ला अध्यक्ष अनुप माझीले सरकारको डोजर अभियानका कारण भूमिहीन तथा सुकुमवासी परिवार त्रसित बनेको बताउनुभयो ।
वर्षौंदेखि बसोवास गर्दै आएका नागरिकलाई जबरजस्ती हटाउने कार्य मानवअधिकार विपरीत भएको उहाले बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले हाम्रो भूमि अधिकार हनन गर्न मिल्दैन । हाम्रो आवासको अधिकार सुनिश्चित हुनुपर्छ ।”
कार्यक्रममा वक्ताले वास्तविक भूमिहीन र सुकुमवासीको पहिचान गरी सुरक्षित बसोवास तथा लालपुर्जा वितरणको प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् ।
भूमि र आवासको अधिकार सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने चेतावनी समेत सहभागीले दिएका छन् । राज्यले भूमिहीन समुदायको समस्या दीर्घकालीन रूपमा समाधान गर्न ठोस नीति ल्याउनुपर्ने विरोध प्रदर्शनका सहभागीले माग गरेका छन् ।