वीरगञ्ज । २० करोड रुपैयाँको लागतमा पर्साको पोखरिया नगरपालिका क्षेत्रमा निर्माण भइरहेको पोखरिया–श्रीसिया सडक तथा नाला निर्माण योजना अलपत्र बनेपछि स्थानीय तह र सरोकारवाला हरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।
पोखरिया नगरपालिकाको वडा न-१ वनकटवादेखि पोखरिया बजार हुँदै वडा न-६ श्रीसियासम्म करिब पाँच किलोमिटर सडक तथा नाला निर्माणका लागि योजना सञ्चालनमा ल्याइएको हो । सङ्घीय सांसदको विकास कोष अन्तर्गत २०७८ सालमा स्वीकृत भएको यो योजना दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।
निर्माण कार्य २०७९ फागुनदेखि सुरु गरिएको भएपनि सुरुमा केही समय तीव्र गतिमा काम भएको र पछिल्लो समयमा काम सुस्त हुँदै गएको तथा हाल पूर्णरूपमा रोकिएको अवस्था रहेको छ । नगरपालिकाका अनुसार हालसम्म करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ भने बाँकी काम लामो समयदेखि ठप्प रहेको छ ।
नगरपालिकाले निर्माण कम्पनीको ढिलासुस्ती र निष्क्रियताका कारण योजना प्रभावित भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको छ । नगरप्रमुख प्रद्युम्न चौहानद्वारा हस्ताक्षरित पत्रमार्फत तत्काल आवश्यक हस्तक्षेप गरी बाँकी काम अघि बढाउन माग गरिएको छ ।
पोखरिया बजार क्षेत्र हुँदै जाने सडक अधूरै रहँदा वर्षायाममा हिलो, धूलो तथा पानी जम्ने समस्या बढेको स्थानीयको गुनासो छ । यसले आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढाएको र बजारको व्यापार–व्यवसाय तथा दैनिक जीवनमा समेत असर परेको स्थानीयले बताएका छन् ।
यता निर्माण कम्पनीका प्रतिनिधिले भने स्थानीय तह र जनप्रतिनिधिबाट सहजरूपमा काम गर्न नदिइएको दाबी गरेका छन् । साथै ठेक्काको म्याद थप प्रक्रियामा पनि खर्च र झन्झट रहेको उल्लेख गर्दै आवश्यक वातावरण बनेमा बाँकी काम पूरा गर्न सकिने बताएका छन् ।
यसैबीच, सम्बन्धित सडक आयोजना कार्यालयका अधिकारीले हालै मात्र जिम्मेवारी सम्हालेको जनाउँदै यस विषयमा स्थलगत अध्ययन गरी आवश्यक निर्णय लिने बताएका छन् । काम नगरेको अवस्थामा ठेक्का सम्झौता रद्द गरी नयाँ प्रक्रिया अघि बढाउन सकिने विकल्पसमेत रहेको उल्लेख गरेका छन् । नगरपालिकाले योजना ढिलासुस्तीप्रति जनस्तरबाट बढ्दो असन्तुष्टि व्यक्त भइरहेको भन्दै सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ । स्थानीयवासीले पनि विकास योजनामा हुने ढिलासुस्तीले सरकारप्रतिको विश्वास कमजोर बनिरहेको भन्दै समयमै काम सम्पन्न गर्न जोड दिएका छन् । साभार : रेडियो नेपाल