जलेश्वर । महोत्तरीको सीमावर्ती क्षेत्रमा सुरक्षार्थ खटिने सशस्त्र प्रहरी बलका चिकित्सक टोलीले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीयवासी हर्षित भएका छन्। सामान्यतया हातहतियारसहित सुरक्षा ड्युटीमा देखिने सशस्त्र प्रहरी स्वास्थ्य परीक्षण तथा उपचार सेवासहित गाउँमै पुगेपछि सीमावर्ती क्षेत्रका बासिन्दाले सकारात्मक प्रतिक्रिया दिएका हुन्।
सशस्त्र प्रहरीका चिकित्सक तथा अन्य विशेषज्ञ चिकित्सकहरूको टोलीले महोत्तरीको सीमावर्ती बजार सम्सीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। स्थानीयवासीले सशस्त्र प्रहरी सुरक्षा सेवासँगै सामाजिक तथा स्वास्थ्य सेवामा पनि सक्रिय भएको भन्दै खुसी व्यक्त गरेका छन्।
सशस्त्र प्रहरी परिवार महिला सङ्घको २५औँ वार्षिकोत्सवको अवसरमा ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रमअन्तर्गत एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको सशस्त्र प्रहरी उपरीक्षक शेरबहादुर अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार शिविरमा उपचार गराउन आउनेहरूको उल्लेख्य भिड लागेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, बर्दिबासको आयोजनामा श्री जनता माध्यमिक विद्यालय, सम्सी–७ मा शिविर सञ्चालन गरिएको हो। शिविरमा एपिएफ अस्पताल बलम्बु, काठमाडौँ तथा जानकी मेडिकल कलेज एन्ड टिचिङ अस्पताल, जनकपुरधामका चिकित्सकहरूको टोलीले सेवा प्रदान गरेको थियो।
शिविरमा हाडजोर्नी, नाक–कान–घाँटी, बालरोग, स्त्रीरोग, दन्तरोग, चर्मरोग तथा जनरल मेडिसिनसम्बन्धी निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो।
सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकालले सीमावर्ती क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो।
शिविरमा पुरुषको तुलनामा महिला बिरामीको सङ्ख्या बढी देखिएको बताउँदै सशस्त्र प्रहरी परिवार महिला सङ्घकी केन्द्रीय अध्यक्ष सावित्राकुमारी जैसीले महिलाहरूले रोग लुकाएर बस्ने प्रवृत्तिलाई ध्यानमा राखी यस्ता कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो।
उहाँले सशस्त्र प्रहरी परिवार महिला सङ्घले यसअघि पनि यस्ता सामाजिक तथा परोपकारी कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। गोरखापत्र अनलाइन